१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

एलिना र प्रसन्न फाइनलमा

कीर्तिपुर नगरपालिकाकी एलिना थिङ र तारकेश्वर नगरपालिकाकी प्रसन्न फुयालले काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा मंगलबार फाइनलमा स्थान बनाएका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा एलिनाले नागार्जुन नगरपालिकाकी बन्दना तामाङ र प्रसन्नले आयोजक काठमाडौं महानगरपालिका २६ की मिस्टी श्रेष्ठलाई हराए। शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ५/५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। महिला टिम कुमुतेमा काठमाडौं महानगरपालिका–३१, तारकेश्वर र नागार्जुनले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। काठमाडौं महानगरपालिका–३१ ले तारकेश्वरसँग सेमिफाइनलमा खेल्नेछ।

अर्को क्वार्टरफाइनल हुन बाँकी छ। गोकर्णेश्वर र काठमाडौं महानगरपालिका–१६ बीचको क्वार्टरफाइनल विजेताले सेमिफाइनलमा नागार्जुनको सामना गर्नेछ। पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०/१० हजार नगद पुरस्कार जित्नेछन्। महिलाको मात्र दुई स्पर्धा समावेश प्रतियोगितामा ८० खेलाडी सहभागी छन्। प्रतियोगिता बुधबार सम्पन्न हुनेछ।

फुटसलमा क्वार्टरफाइनल समीकरण

बृहत् खेलकुदअन्तर्गत पुरुष फुटसलमा तारकेश्वर, वडा–२३, वडा–१६ र वडा–५ क्वार्टरफाइनलमा पुगेका छन्। लैनचौर खेलमैदानमा तारकेश्वरले वडा १० लाई ३–१ गोलले हरायो।

विजयी टोलीका सुनील थापा र रविन चौलागाईंले समान एक गोल गरे। एक गोल आत्मघाती थियो। वडा–२३ ले वडा–१ लाई २–१ गोलले हरायो। वडा–२३ का विशाल श्रेष्ठले गोल गरे। अर्को गोल आत्मघाती थियो। वडा–१ का गौरव महर्जनले १ गोल फर्काए। वडा–१६ ले  वडा–११ लाई २–० गोलले पाखा लगायो।

वडा–१६ का सुविल श्रेष्ठ र आयुश कुँवरले गोल गरे। वडा–५ ले वडा–२ लाई २–० गोलले पन्छायो। पुष्कर आचार्य र राकेश श्रेष्ठले गोल गरे। फुटसल, कराते, क्योकुसिन कराते, टेबल टेनिस र तेक्वान्दोसहित पाँच खेल समावेश बृहत् खेलकुदअन्तर्गत टेबल टेनिस सम्पन्न भइसकेको छ।

प्रकाशित: ४ असार २०८२ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App