नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा पहिलो जित दर्ता गरेको छ।
मंगलबार भएको रोमाञ्चक खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई उसैको मैदानमा २ विकेटले पराजित गर्दै सिरिजमा पुनरागमन गरेको हो।
टिटवुडमा भएको खेलमा ९८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले संघर्षपूर्ण ब्याटिङ गर्दै अन्तिम ओभरमा जित निकालेको हो।
त्यसअघि, टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्याण्डलाई १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट गरेको थियो। नेपाली बलरहरू सुरुदेखि नै हाबी भएका थिए।
स्कटल्याण्डका लागि माइकल लिस्कले एक छेउबाट संघर्ष गर्दै ४६ बलमा ४४ रन बनाए।
सामान्य लक्ष्य पछ्याए पनि नेपालको ब्याटिङ संघर्षपूर्ण रह्यो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए पनि अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालले एकपछि अर्को विकेट गुमाउँदा खेल अन्तिम ओभरसम्म पुगेको थियो।
अन्तिममा, जितका लागि ३ बलमा १ रन आवश्यक पर्दा सन्दीप लामिछानेले पहिलो बलमै विजयी सिंगल लिँदै नेपाललाई अविस्मरणीय जित दिलाए। करण केसी ३ रनमा अविजित रहे।
प्रकाशित: ३ असार २०८२ २३:५८ मंगलबार