२५ असार २०८२ बुधबार
image/svg+xml
खेल

शीर्ष स्थानमा रहँदै रविको सुखद सुरुआत

पूर्वनम्बर एक प्रोफेसनल गल्फर रवि खड्काले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको शीर्ष स्थानमा रहँदै सुखद सुरुआत गरेका छन्। 

पार–७२ को गोकर्ण गल्फ कोर्समा सोमबारदेखि सुरु भएको प्रिमियर च्याम्पियनसिपमा रविले पाँच अन्डर ६७ स्कोर बटुल्दै अग्रता बनाएका हुन्। रविले डिफेन्डिङ च्याम्पियन सुवास तामाङलाई एक स्ट्रोकले पछि परेका छन्। 

पहिलो दिनको खेलमा सुवास चार अन्डर ६८ को स्कोर कार्डमा रहे। एमेच्योर गल्फरद्वय भुटानका निमदोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धनबहादुर थापाले संयुक्त रूपमा तेस्रो स्थान बाँडे। यी चारैले तीन अन्डर ६९ रहेर पहिलो दिनको खेल सकाए। नीरज तामाङ र विष्णुप्रसाद शर्मा संयुक्त रूपमा सातौं स्थानमा छन्। दुवैले समान दुई अन्डर ७० स्कोरको प्रदर्शन गरे।

दीपक मगर, रामकृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपले नवौं स्थान बाँडेका छन्। दुवै जना एक अन्डर ७१ स्कोर जोडे। शीर्षता कायम गरेका रविले फ्रन्ट नाइन चार अन्डर ३२ मा सकाए। यस क्रममा उनले छैटौंदेखि नवौं होलसम्म लगातार चार बर्डी प्रहार गरे। ब्याक नाइनमा पनि उनले १२औं र १७औं होलमा समान एक सट बचाए। 

१३औं होलको बर्डीसँगै उनले ब्याक नाइनमा एक अन्डर ३५ मा पूरा गरे। सुवासले भने फ्रन्ट नाइन एक ओभर ३७ मा सकाए। उनले छैटौं होलमा बर्डी प्रहार गरे। तर, पाँचौं र सातौं होलमा भने सुवासले समान एक सट खेर फाले। ब्याक नाइनमा उनको प्रदर्शन उत्कृष्ट रह्यो। यस क्रममा उनको बोगीरहित ब्याक नाइन रह्यो। उनले दसौं, १२औं र १६औं होलमा बर्डी प्रहार गरे।

पार–५ को १५औं होलमा सुवासले इगलको सफलता हात पारे। एमेच्योरतर्फनिमदोर्जी र नेपालका राहुल संयुक्त रूपमा शीर्ष स्थानमा छन्। दुवैले तीन अन्डर ६९ को स्कोर बटुले। यी दुईले वाङ्चेनलाई दुई स्ट्रोकले पछि पारे। निमदोर्जीले तेस्रो र सातौं होलमा इगल सफलता पाए। उनले छैटौं होलमा पनि एक सट बचाए। तर, निमले पहिलो र आठौं होलमा बोगी सामना गरेका थिए। 

यससँगै उनले फ्रन्ट नाइन तीन अन्डर ३३ मा पूरा गरे। उनको ब्याक नाइन भने इभन पार ३६ को रह्यो। यस क्रममा ११औं र १४औं होलमा बर्डी तथा १५औं र १८औं‌ होलमा बोगी खेपे। राहुलले फ्रन्ट नाइन एक अन्डर ३५ र ब्याक नाइन दुई अन्डर ३४ मा सकाए। उनले कुल पाँच बर्डी र दुई बोगी प्रहार गरे।

वाङ्चेनले एक अन्डर ७१ स्कोर गरे। वाङ्चेनले सातौं होलमा चार सट खेर फाले। उनले ६ बर्डी प्रहार गर्दा एक बोगी पनि खेपे। नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चारदिने प्रतियोगितामा कुल ३७ जना प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्। विजेताले ट्रफीसहित तीन लाख, दोस्रो हुने खेलाडीले एक लाख ८५ हजार, तेस्रोले एक लाख २५ हजार, चौथोले एक लाख पाँच हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन्। 

प्रकाशित: ३ असार २०८२ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App