५ असार २०८२ बिहीबार
image/svg+xml
खेल

गणेशमान सिंह रोड रेस असार १४ मा

 पाँचौं वीर गणेशमान सिंह १० किमि रोड रेस आगामी असार १४ गते हुने भएको छ। गणेशमान सिंह फाउन्डेसनअन्तर्गत गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा काठमाडौंमा रोड रेस हुन लागेको हो।

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृतिमा यो रोड रेस सन् २०१४ देखि गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहेको गणेशमान सिंह स्पोर्ट्स कमिटीले गर्दै आएको छ। गणेशमान सिंह स्पोर्ट्स कमिटीले मंगलबार दरबारमार्गमा पत्रकार सम्मेलन आयोजना गर्दै रोड रेसका बारेमा जानकारी दिएको हो।

रोड रेस शेर्पा मल दरवारमार्गबाट सुरु भई भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरवारमार्गमा समाप्त हुने आयोजकले जनाएको छ।

प्रतियोगिता महिला र पुरुषतर्फ खुला रूपमा हुने आयोजकले जनाएको छ। महिला तथा पुरुषका विजेताले समान ६० हजार नगद पुरस्कार पाउनेछन्। दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले पाँच हजार नगद पुरस्कार पाउनेछन्। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुने गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधरले बताए।

यस दौडमा कोर्स रेकर्ड कायम गर्ने पहिलो खेलाडीलाई थप नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ। रोड रेसमा करिब चार सय ५० जनाले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

महिलामा राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेन्ड र पुरुषमा गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेन्डको कोर्स रेकर्ड छ। प्रतियोगिता आयोजना गर्न १५ लाख खर्च हुने अनुमान गरिएको छ। यस प्रतियोगिताको संयोजकमा वीर गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य प्रभाषमान सिंह र व्ययवस्थापकमा राजन  खत्री छन्।

प्रकाशित: २८ जेष्ठ २०८२ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App