मार्सल आर्ट्स अर्गनाइजेसन नेपालले अन्तर्राष्ट्रिय पदक विजेता निश्चल तामाङ र उमेश महर्जनलाई मंगलबार नगदसहित सम्मान गरेको छ। मार्सल आर्ट अर्गनाइजेसन नेपालको निमन्त्रणामा सेल्फ डिफेन्स प्रशिक्षण दिन नेपाल आएका जर्मनीका प्रशिक्षक ग्रान्ड मास्टर हान्स होहन, मास्टर जोर्ग टिम र क्याथ्रिना स्रेङको बिदाइ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल र एनआरएनएका सल्लाहकार डा. देवकाजी डंगोलले दुवैलाई जनही एक सय अमेरिकी डलर र प्रशंसापत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे।
निश्चलले सिक्किममा भएको उसु प्रो फाइटमा स्वर्ण जितेका थिए। उमेशले इन्डोनेसियामा भएको भोभिनाम च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए।
सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद्बाट उमेरहदका कारण हालै अनिवार्य अवकाश पाएका उसु प्रशिक्षक रामगोपाल महर्जनलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो।
एक साता नेपाल बसाइका क्रममा जर्मनीका प्रशिक्षकले नेपालका विभिन्न उसु क्वानमा सञ्चालन गरेको सेल्फ डिफेन्स प्रशिक्षणमा करिब एक सय ६५ प्रशिक्षार्थीले सहभागिता जनाएको मार्सल आर्ट्स आर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले जनाएका छन्।
जर्मनीका प्रशिक्षक हान्सले आफूले अनुगमन र प्रशिक्षण गराएको उसु र कुङ –फु क्वानका रमेश सुवाल (बाल विकास स्कुल), नीराजन आले मगर (निन्जा उसु क्वान), विशाल सिन्जाली (बुद्ध प्रकाश तथा इस्टपोल उसु क्वान), सुकमान लामा (बुढानिलकण्ठ कुङ–फु क्वान), राजु नेपाली (स्वयम्भू कुङ–फु क्वान), विश्वनाथ पाठक (बागमती प्रदेश उसु प्रशिक्षक, हेटौंडा) र राम बमजन (क्योकुसिन कराते प्रशिक्षक) प्रशिक्षकलाई क्लबको लोगो अंकित मायाको चिनो प्रदान गरेका थिए।
प्रकाशित: २८ जेष्ठ २०८२ ०७:१८ बुधबार