१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

चेयरम्यान कप: ३१९ बाल मस्तिष्कको बौद्धिक घमासान

काठमाडौं महानगरपालिकाका २० विद्यालयका ३१९ साना खेलाडीहरूको उत्साहजनक सहभागितामा ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरु भएको छ।

दुई दिनसम्म चल्ने यस च्याम्पियनसिपमा छात्रछात्रातर्फ गरी कुल ६ विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गराइनेछ। स्वीस प्रणालीको र्‍यापिड ढाँचामा खेलाइने प्रतियोगिताको पहिलो दिन बुधबार दुई चरणका खेलहरू सम्पन्न भएका छन्।

प्रतियोगितामा कामपा वडा नं-४ भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वडा बाहिर अध्ययनरत वडाका स्थानीय बालबालिकाले सहभागिता जनाएका छन्।

पहिलो दिनको खेलमा कक्षा १ देखि ४ सम्मको छात्रातर्फ धुम्रवाराही माविकी प्रतिज्ञा ठाकुर, बाँसबारीकी सिमरन कार्की र सुप्रिया मोक्तान तथा महेन्द्र माविकी आशिका लोप्चनले दुवै खेल जित्दै २-२ अंक जोडेका छन्।

सोही समूहको छात्रतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी र आयन सुवेदी, नेपाल क्रियटिभ को–एडुकेसनल स्कुलका श्रेयांश सापकोटा र अर्णव मानन्धर तथा बाँसबारी माविका खेमराज जैशी र युङ्सेन तामाङले समान २-२ अंक बनाएका छन्।

त्यसैगरी, कक्षा ५ देखि ८ को छात्रतर्फ आदर्श गुरुङ, नवीन थापामगर, प्रसन्न जैशी, प्रत्युष ज्ञवाली र राजु राईले अपराजित यात्रा कायम राखे। छात्रातर्फ रोसलिन सुवेदी, आरग्य गुप्ता, समिक्षा नेपाल, अप्सरा खत्री र काश्यपी मैनालीले दुवै चरणमा सफलता हात पारे।

कक्षा ९ देखि १२ को छात्रातर्फ मायुमी राई, आँचल चौधरी, आन्वी सुवेदी, देवयानी गुरागाइँ, स्मारिका लामा, समिक्षा रपाल र साङ्मेन्दु तामाङले शतप्रतिशत नतिजा निकाले। सोही समूहको छात्रतर्फ प्रेम–विक्रम अधिकारी, ओजस अधिकारी र अभिनव पाण्डेले पनि २-२ अंक जोडेका छन्।

च्याम्पियनसिपको उद्घाटन कामपा वडा नं-४ का वडाध्यक्ष दिनेश महर्जन तथा नेपालकी प्रथम राष्ट्रिय महिला बुद्धिचाल च्याम्पियन मोनालिशा खम्बूले संयुक्त रूपमा गरेका थिए।

प्रकाशित: २१ जेष्ठ २०८२ २०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App