१९ माघ २०८२ सोमबार
image/svg+xml
खेल

प्रारम्भ वर्ल्ड र शिशु मिलन च्याम्पियन

प्रारम्भ वर्ल्ड स्कुल र शिशु मिलन स्कुल यु–१४ अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत बागमती प्रदेश टी वान रग्बी छनोट प्रतियोगितामा च्याम्पियन भएका छन्।

कपनस्थित ह्यान्डबल बहुउद्देश्यीय खेलमैदानमा बिहीबार सम्पन्न एकदिने छनोट प्रतियोगितामा प्रारम्भ ब्वाइजमा र शिशु मिलन गर्ल्समा च्याम्पियन भएका हुन्। फाइनलमा प्रारम्भले जोसेफ हाइस्कुललाई १–० अंकले हरायो।

नेपाल रग्बी संघअन्तर्गत नेपाल विद्यालय रग्बी आयोग आयोजनामा भएको बागमती छनोटमा जेबी स्कुल तेस्रो स्थानमा रह्यो। जेबीले तेस्रो स्थानका लागि भएको खेलमा आई जोसेफलाई १–० ले हरायो। गर्ल्सतर्फ फाइनलमा पनि जोसेफले हार सामना गर्‍यो। फाइनलमा शिशु मिलनले आई जोसेफलाई बल ड्रपका आधारमा ३–२ ले हराउन सफल भएको हो।

गर्ल्सतर्फ प्रारम्भ विश्व स्कुल तेस्रो भयो। प्रारम्भले फेरिल्यान्डलाई १–० हराउँदै यो सफलता पाएको हो। गल्र्समा शिशु मिलन स्कुलकी आरती बडु र ब्वाइजमा प्रारम्भका ह्यान्सेल मगर उत्कृष्ट खेलाडी घोषित भएको विद्यालय रग्बी आयोगका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए।

विजेतालाई नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे, कोषाध्यक्ष दीपक अधिकारी र रग्बी संघको महिला विभाग प्रमुख एलिसा थापाले पुरस्कृत गरे। यस छनोट प्रतियोगिता गर्ल्समा १५ र ब्वाइजमा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए। यसअघि बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए।

राष्ट्रिय खेलकुद परिषद्की सदस्य रञ्जना प्रधान र नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीलगायत उक्त कार्यक्रममा उपस्थित थिए। सो अवसरमा मेयर अधिकारीले यस नगरमा रग्बी खेल विकास र प्रवर्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। साथै ह्यान्डबल बहुउद्देश्यीय खेलमैदानलाई पारापिटसहित सुविधासम्पन्न बनाउने मेयर अधिकारीले बताए।

यसै छनोट प्रतियोगिताबाट यु–१४ गल्र्स र ब्वाइजको बागमती प्रदेश रग्बी टोली घोषणा गरिने विद्यालय रग्बी आयोगका अध्यक्ष अधिकारीले जानकारी दिए। उनका अनुसार प्रशिक्षकहरू पञ्चमाया श्रेष्ठ, रोहन डंगोल र सृजना राईको छनोट समितिले गल्र्स र ब्वाइजमा समान २५ जना प्रारम्भिक टोली घोषणा गर्नेछन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विद्यालयस्तरबाट प्रतिभा खोजी गर्ने उद्देश्यले आगामी जेठ २२ देखि २६ गतेसम्म काठमाडौंमा यु–१४ विद्यालय खेलकुद प्रतियोगिता गर्दै छ। यस प्रतियोगितामा रग्बीसहित एथलेटिक्स, क्रिकेट, टेबल टेनिस, ब्याडमिन्टन र भलिबल गरी कुल ६ खेलको यु–१४ प्रतियोगिता हुन लागेको हो। यी खेलको अहिले विभिन्न प्रदेशमा छनोट हुँदै छ।  

प्रकाशित: १५ जेष्ठ २०८२ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App