प्रोफेसनल गल्फर रामे मगरको टोलीले शनिबार सूर्य नेपाल गल्फ टुर २०२४–२५ को सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज प्रो–एमको उपाधि जितेको छ।
पार–६८ को रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा रामेको टोलीले कुल १२४ अंकसहित उपाधि जितेको हो। एमेच्योर गल्फरहरू सत्यजित राणाले ४४, सरोज थापाले ४१ र अञ्जिला योन्जनले ३९ स्कोर गरे।
प्रोफेसनल भुवन नगरकोटीको टोलीले ११७ अंकसहित दोस्रो स्थान प्राप्त गर्यो। यो टोलीका एमेच्योर खेलाडीहरू रवीन्द्रपुरुष ढकाल, मुक्तिसेन गुरुङ र तारा कार्की चित्रकारले समान ३९ स्कोर गरेका थिए। प्रोफेसनल रमेश अधिकारीको टोली तेस्रो भयो। यो टोलीले कुल ११४ स्कोर बटुल्यो। एमेच्योर खेलाडीहरू स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बु लामाले ३८ र स्वदेश गुरुङले ३७ स्कोर गरे।
महिलातर्पm अञ्जली योन्जनले सफलता पाइन्। उनले राष्ट्रिय टोलीकी सदस्य तारा कार्की चित्रकारलाई काउन्ट ब्याकमा हराइन्। दुवैले समान ३९ स्कोर जोडेका थिए। झलेन्द्र भट्टराईले लंगेस्ट ड्राइभ र फुन्सुक नोर्बु लामाले क्लोजेस्ट टु द पिनको उपाधि जिते।
प्रो–एममा कुल ९० एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका विजेतालाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, एनपिजिएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कृत गरे।
शुक्रबार सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि धरानका शुक्रबहादुर राईले कोर्स रेकर्डसहित जितेका थिए। उनले समग्रमा १७ अन्डर दुई सय ५५ को प्रभावशाली स्कोरमा नीरज तामाङलाई चार स्ट्रोकले हराउँदै उपाधि आफ्नो नाममा लेखाएका थिए। सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत आठौं तथा अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर जुन १० देखि १३ सम्म गोकर्ण गल्फ क्लबमा हुनेछ।
प्रकाशित: ११ जेष्ठ २०८२ ०७:५८ आइतबार





