१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

सुशीलले जिते हाफ म्याराथन

त्रिभुवन आर्मी क्लबका सुशीलकुमार शाहीले ललितपुरमा शनिबार भएको वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पुरुषतर्पmको उपाधि जितेका छन्।

एनआरएस स्पोर्ट्स फाउन्डेसनको आयोजनामा पाटन दरबार कृष्णमन्दिरमा सम्पन्न हाफ म्याराथनमा सुशीलले एक घण्टा पाँच मिनेट ५८ सेकेन्ड समयका साथ उपाधि उचालेका हुन्।

यस विधामा आर्मीका खेलाडी पूर्ण हाबी रहे। आर्मीकै विनोद रोकाया दोस्रो भए। उनले यो दूरी पार गर्न एक घण्टा ६ मिनेट ११ सेकेन्ड समय लगाए। नरेन्द्रसिंह रोकाया तेस्रो स्थानमा रहे। उनले एक घण्टा आठ मिनेट ६ सेकेन्ड समय खर्चिए। यो स्पर्धाको महिलतातर्फ पनि आर्मीका धाविकाले नै शीर्ष तीन स्थानमा कब्जा जमाए। आर्मीका निशा सार्की, विश्वरूपा बुढा र गीता महर्जन शीर्ष तीन स्थान प्राप्त गरेका हुन्।

उनीहरूले क्रमशः एक घण्टा २८ मिनेट ४७ सेकेन्ड, एक घण्टा ३० मिनेट ५२ सेकेन्ड र एक घण्टा ५८ मिनेट ५४ सेकेन्ड समय लगाए। १० किमि खुला पुरुषतर्फ सञ्जय श्रेष्ठले उपाधि जिते। राजीव बस्नेत दोस्रो र अर्जुन बुढा तेस्रो भए। सोही स्पर्धाको महिलामा सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने र सिर्जना पाण्डेले शीर्ष तीन स्थान प्राप्त गरे।

पाँच किमि खुला पुरुषतर्फ रूपेश कार्की, गणेशसिंह रावत र अखुलबहादुर पाल तथा महिलामा आशा रावत, सरस्वती भट्टराई र रजिना दुलाल शीर्ष तीन स्थानमा सफलता पाए। हाफ म्याराथन मास्टर्समा किरणसिंह बोगटीले पहिलो भए। धर्म महर्जनले दोस्रो र मिजुकी मातसुजाकी तेस्रो स्थानमा रहे। मास्टर्स १० किमिमा निन महर्जन, देव महर्जन र राजेश महर्जनले शीर्ष तीन स्थान प्राप्त गरे।

विद्यालय पाँच किमि छात्रतर्फ अजय पाण्डे, दिनेश यादव र हरिचन्द्र तामाङ क्रमशः पहिलोदेखि तेस्रो स्थानमा रहे। यसै दूरीको छात्रातर्फ अस्मिता भुजेल, गायत्री श्रेष्ठ, सांग्रिला श्रेष्ठ शीर्ष तीन स्थान प्राप्त गर्न सफल भए। वान रन मे २४ मा नेपालसहित विश्वभरका एक सय १० वटा सहरमा एकैसाथ आयोजना हुँदै आएको आयोजकले जनाएको छ।

नेपालमा यो दौड काठमाडौं म्याराथनको आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले गत वर्षदेखि गर्न लागेको हो। पाटन दरबार क्षेत्रबाट सुरु भएको हाफ म्याराथन मंगलबजार, पुलचोक, जावालाखेल (चिडियाखाना), एकान्तकुना, सातदोबाटो, बल्खु, कलंकी, सितापाइला हुँदै सुरुआती विन्दुमै आएर अन्त्य भएको थियो।

यस वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा बहराइन, बाङ्लादेश, बेलारुस, ब्राजिल, कतार, चीन, इजिप्ट, भारत, जोर्डन, किर्गिस्तान, मलेसिया, पाकिस्तान, साउदी अरेबिया, सर्बिया, ताजकिस्तान, चिली, लेबनान, अर्मेनिया, ट्युनिसिया र भेनेजुएला लगायत देशका धावक र धाविकाले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: ११ जेष्ठ २०८२ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App