६ असार २०८२ शुक्रबार
image/svg+xml
खेल

दिक्तेल मेयर कप: सुजनको ह्याट्रिकमा बाक्सिलालाई उपाधि

खोटाङ सदरमुकाम दिक्तेलमा सम्पन्न ‘छैठौँ सूचन केएफए दिक्तेल मेयरकप आमन्त्रित फुटबल प्रतियोगिता–०८२’ को उपाधि बाक्सिला फुटबल क्लब, केपिलासगढीले जितेको छ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शनिबार भएको एकपक्षीय फाइनलमा नुनथला स्पोर्टस् क्लबलाई शून्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले पराजित गर्दै बाक्सिला च्याम्पियन बनेको हो।

फाइनल खेलमा बाक्सिलाका स्टार खेलाडी सुजन माझी एक्लैले ह्याट्रिकसहित चार गोल गर्दै जितको आधार तयार पारेका थिए।

मध्यान्तरअघि नै ३ गोलको अग्रता बनाएको बाक्सिलाले मध्यान्तरपछि थप ३ गोल थप्दा नुनथलाले कुनै पनि समय खेलमा फर्कने सङ्केत दिन सकेन र उपविजेतामा चित्त बुझाउन बाध्य भयो।\

खोटाङ फुटबल एकेडेमी (केएफए) को आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रायोजनमा सञ्चालित प्रतियोगिताको विजेता बनेको बाक्सिलाले उपाधिसहित २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो।

उपविजेता बनेको नुनथला स्पोर्टस् क्लबले पनि नगद २ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक खेल संयोजक श्याम पौडेलले जानकारी दिए।

जिल्लाका विभिन्न ८ फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिताको सेमिफाइनलमा बाक्सिलाले हलेसी तुवाचुङ फुटबल क्लबलाई १–० गोलले तथा नुनथलाले नेर्पा स्पोर्टस् क्लबलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।

प्रतियोगिताको अधिकांश विधागत पुरस्कार पनि विजेता बाक्सिलाकै खेलाडीले हात पारे। बाक्सिलाका पदम भट्टराई सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ७ हजार नगद पाए भने सर्वाधिक गोलकर्ता बनेका सुजन माझी, उत्कृष्ट गोलरक्षक विवश चौधरी र उत्कृष्ट प्रशिक्षक सनम राई ‘जोजो’ ले जनही ४ हजार नगद प्राप्त गरे। खोटाङ एकेडेमीका प्रतीक खड्का उदयीमान खेलाडी घोषित हुँदै २ हजार नगद पाए।

विजेता क्लब तथा खेलाडीहरूलाई दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराई, नेपाल फुटबल सङ्घ (एन्फा) प्रदेश अध्यक्ष तथा केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, उपप्रमुख गुरुराज राई, नेपाली सेना रणभीम गणका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए।

सो अवसरमा नगरप्रमुख भट्टराईले खेलकुद क्षेत्रको समग्र विकासका लागि नगरपालिका सदैव तत्पर रहेको बताउँदै खोटाङबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी जिल्लाको पहिचान उँचो बनाउने लक्ष्य रहेको उल्लेख गरे।

केएफएका अध्यक्ष नूरकाजी सैँजूले ‘स्थानीय खेलाडीहरुको विकास र पहिचानः खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ प्रतियोगिता सम्पन्न भएको र एकेडेमीले एन्फासँगको सहकार्यमा विभिन्न उमेर समूहका खेलाडीलाई प्रशिक्षण दिँदै आएको जानकारी दिए।

प्रकाशित: १० जेष्ठ २०८२ २१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App