आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको अन्तिम खेलमा नेपाल पराजित भएको छ।
नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित भएको हो। यो सँगै नेपाल एसिया छनोटको उपविजेतामै सीमित रहेको छ भने थाइल्याण्ड अपराजित रहँदै एसिया छनोटको उपाधि जित्न सफल भएको छ।
थाइल्याण्डले दिएको १५९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनायो। नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाउँदा राजमती ऐरी २० रनमा नटआउट रहिन्। रुबिना क्षेत्रीले १२ रन बनाइन्।
थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन्। उनले १९औं ओभरमा रोमा थापा, ईश्वरी विष्ट र रिया शर्मालाई आउट गरेकी थिइन्। त्यस्तै थिपाथ्चा पुथावोङले ३ विकेट लिइन्। सुलिपर्न लाओमीले १ विकेट लिइन्।
प्रकाशित: ६ जेष्ठ २०८२ १३:१७ मंगलबार





