१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण घान्द्रुकमा हुने

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण जेठ २० मा हुने भएको छ। अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा हुने यो म्याराथनबारे शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने विश्व कीर्तिमान राखेको ७५ औं वर्षगाँठको अवसरमा हिरक महोत्सवअन्तर्गत यो म्याराथन आयोजना गरिएको समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङले बताए।

अन्नपूर्ण हिमाल पदयात्रा मार्गको पूर्वाधार निर्माणका लागि महिला र पुरुष दुवै विधामा प्रतियोगिता आयोजना गरिएको गुरुङले जानकारी दिए। ‘सबै मौसमका लागि पर्यटन’ नारासहित समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, ताउलु, घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा समापन हुने रुट निर्धारण गरिएको छ। 

अल्टिमेट एडभेञ्चर नेपालको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख, तेस्रोलाई ७५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ।  

अन्नपूर्ण गाउँपालिकाका स्थायी बासिन्दामध्ये प्रथम हुने र गण्डकी प्रदेशका धावकमध्ये प्रथम हुनेलाई विशेष पुरस्कार दिइनेछ। महिलातर्फ लगातार तीनपटक म्याराथनमा सहभागी हुने धावकलाई प्रोत्साहनस्वरूप विशेष पुरस्कार प्रदान गरिने गुरुङले बताए। अन्तर्राष्ट्रिय धावकहरूमध्ये महिला र पुरुष दुवै समूहमा प्रथम हुने विदेशीलाई पनि विशेष पुरस्कार दिइनेछ। 

साथै, ७५ औं अन्नपूर्ण आरोहण दिवसको अवसरमा ७५ औं स्थान हासिल गर्ने धावकलाई ‘डायमण्ड जुब्ली अवार्ड’ प्रदान गरिनेछ। म्याराथनकै अवसरमा ‘अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८२’ पनि प्रदान गरिनेछ। प्रतियोगिताका लागि १० विदेशीसहित ६० धावकले नाम दर्ता गरिसकेका छन्। नाम दर्ताका लागि ७ हजार शुल्क तोकिएको छ।  

म्याराथन सम्पन्न गर्न करिब ३८ लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगितालाई अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय प्रकृति संरक्षण कोष, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउन्डेशन, अर्ना बियर, एभरेस्ट बैंक न्यूरोड शाखा, होटल रक एण्ड मुड, कल्चर रिसोर्ट, घान्द्रुक सी.वाई.सी. क्लिनिकलगायतले सहयोग गरेका छन्।

प्रकाशित: २ जेष्ठ २०८२ २०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App