नेपाल क्रिकेट संघ(क्यान)ले स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टि–२० आई खेल्न जाने राष्ट्रिय टोलीलाई बिदाई गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायत क्यानका पदाधिकारी र टिम व्यवस्थापनसहितको उपस्थितीमा बुधबार टोलीलाई बिदाई गरिएको हो।
नेपाली टोली बुधाबार(आज) साँझ नै स्कटल्यान्ड प्रस्थान गर्ने तालिका छ। नेपाली टोलीले स्कटल्यान्डमा लिग–२ अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्डसँग जुन २ देखि १० सम्म त्रिकोणीय सिरिज खेल्नेछ। यो सिरिज नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ। सँगै यो सिरिजमा नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने पनि दबाब छ।
यस्तै दुवै देशसँग जुन १५ देखि २० सम्म टि–२० आई सिरिजको पनि कार्यतालिका छ।
क्यानले लिग–२ का लागि रोहित पौडेल कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानका रूपमा पठाएको छ। यस्तै टिममा कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी सदस्य छन्।
यस्तै टि–२०आई सिरिजका लागि किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बमलाई थप खेलाडीका रूपमा पठाउन लागेको छ ।




प्रकाशित: ३१ वैशाख २०८२ १२:३३ बुधबार





