१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय टेस्टबाट कोहलीको सन्यास : सचिनको कीर्तिमान भंग, सर्वाधिक सफल कप्तान

देल्लीमा जन्मिएका विराट कोहलीले भारतको जर्सीमा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राख्दै गर्दा मास्टर ब्लास्टर सचिन तेन्दुल्कर आफ्नो क्रिकेट करियरको उत्तरार्धमा थिए । आफ्नो डेब्यू टेस्टको दुवै इनिङ्समा वेस्ट इन्डिजविरुद्ध मात्र १९ रन हिर्काए पनि कोहलीाका फ्यानले भारतीय क्रिकेटको उदाउँदो तारा देखेका थिए । जुन, आफ्नो १४ वर्षे क्रिकेट करियरमा उनले प्रमाणित गरिदिए । मास्टर ब्लास्टरले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध ७४ रन बनाउँदा उनै कोहलीले ५७ रनको पारी खेलेका थिए ।  

सन् २०१२ को मार्चमा पाकिस्तानविरुद्ध खेलिएको एसिया कपको त्यो खेलमा विराटले तहल्का मच्चाए । ३३० रनको लक्ष्य पछ्याउने क्रममा देल्ली बोइले १४८ बलमा १८३ रनको पारी खेले, जसको मद्दतमा भारतले खेल १३ बल बाँकी छँदै ६ विकेटले जित्यो । एकदिवसीय क्रिकेटमा पाइला राखेको मात्रै चार वर्षमा उनले पाकिस्तानलाई हराएपछि कोहलीको करियर चम्कियो ।  

सचिनले सन् २०१३ को नोभेम्बरदेखि र अर्का भरपर्दा क्रिकेटर राहुल द्रविडले सन् २०१२ को जनवरीदेखि अन्तर्राष्ट्रिय क्रिकेट छाडे । द्रविडको अन्तिम टेस्टमा पनि कोहलीले अस्ट्रेलियाविरुद्धको पहिलो इनिङ्समा ११६ र दोस्रोमा २२ रन प्रहार गर्दै आफ्नो छाप छाडे । भारतीय टेस्ट क्रिकेटमा सफल कप्तान र क्रिकेटको छवी बनाएका उनै द्रविड अहिले भारतीय क्रिकेटको मूख्य प्रशिक्षकको भूमिकामा छन् । द्रविड नै प्रशिक्षक रहेका समय कोहलीले अन्तराष्ट्रिय टेस्ट र टी-२० बाट सन्यास लिए ।  

उनको कप्तानीमा भारतले ६८ टेस्ट खेलेको थियो । जसमा ४० मा जित हासिल गरेका थिए । विराट भारतको सफलमध्येका एक टेस्ट कप्तान मानिन्छन् ।  सन् २०२० पछि भने कोहलीमात्र ३९ वटा टेष्टमा देखिएका थिए । 

३६ वर्षीय कोहलीले टेस्ट क्रिकेटमा १२३ खेल खेले । जसमा ४६.८५ को औसतमा उनले ९२३० रन बनाए । उनले आफ्नो इनिङमा ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन्।  

आफैं कप्तान रहेका समय सन् २०१९ को अक्टोबरमा विराटले विश्व च्याम्पियनसिपअन्तर्गत साउथ अफ्रिका विरुद्धको खेलमा नटआउट २५४ रन बनाए । जुन उनले एकै इनिङ्समा बनाएको करियरै सर्बाधिक रन थियो । सोही रनको मद्दतमा भारतले पहिलो इनिङ्स ५ विकेटको क्षतिमा ६०१ रनमा डिक्लियर गरेको थियो । उनले सो खेलमा दोस्रो इनिङ्समा ब्याट चलाउन परेन किनकि सो खेल भारतले एक इनिङ्स र १३७ रनले जितेको थियो ।  

एकदिवसीय र टी-२० मा विराटको प्रदर्शन उम्दा छ । ३०२ वटा एकदिवसीय खेलेका उनले १४ हजार १८१ रन बनाएका छन् । जसमा ५१ शतक र ७४ अर्धशतक सामेल छन् । यो एकदिवसीय शतक सचिन तेल्दुल्करको भन्दा बढी हो । आफ्नै कीर्तिमान तोडिएका समय सचिनले विराटलाई मैदान मै बधाई पनि दिएका थिए । टी-२० मा पनि उनले १२५ खेलमा एक शतक र ३८ अर्धशतकको मद्दतमा ४ हजार १८८ रन जोडेका थिए । 

सचिन,  द्रविडसहित महेन्द्र सिंह धोनी, रोहित शर्मा, वीरेन्द्र सेहवाग, गौतम गाम्भीर, युवराज सिंह, भीभीएस लक्ष्मण, सुरेश रैना, जाहिर खान, हरभजन सिंहजस्ता भारतीय क्रिकेटका समकक्षी बनेका कोहलीको व्याटिङले भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात भएको विश्वास गरिन्छ । 

कोहली आफ्नो पुस्ताका चार उत्कृष्ट ब्याट्सम्यानमध्ये एक मानिन्छन् । इंग्ल्यान्डका जो रुट, अस्ट्रेलियाका स्टिभ स्मिथ र न्यूजिल्याण्डका केन विलियमसनसँगै उनलाई पनि सफल मानिन्छ । उनले टेस्ट क्रिकेटमा ३० शतक प्रहार गरेका छन् । जुन उनको असाधारण ब्याटिङ क्षमताको प्रमाण हो। यी चार खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङको परिभाषा नै पुनः लेखेका छन् र कोहलीको योगदान विशेषगरी टेस्ट क्रिकेटमा अतुलनीय मानिन्छ। 

आफ्नो सन्यास घोषणा गर्दै कोहलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'टेस्ट क्रिकेटमा पहिलोपटक निलो टोपी लगाएको १४ वर्ष भइसकेको छ। यो यात्राले मलाई परीक्षण गर्‍यो, आकार दियो, र जीवनभरका पाठहरू सिकायो । यो फर्म्याटबाट टाढा जानु सजिलो छैन, तर यो सही लाग्छ। मैले यसलाई सबैथोक दिएको छु, र यसले मलाई आशाभन्दा बढी दिएको छ।'

कोहलीले यसअघि २०२४ मा भारतले दक्षिण अफ्रिकालाई पराजित गरी टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनले एकदिवसीय क्रिकेट खेल्न जारी राख्ने अपेक्षा गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उच्च फर्म रहेका समय टेस्ट क्रिकेट नछाड्न भनेपनि विराटले आफ्नो निर्णय परिवर्तन गरेनन् । अन्ततः इन्ट्राग्राममा पोष्ट गर्दै उनले टेस्ट करियरको अन्त्य गरे ।  

भारतीय नायिका अनुष्का शर्माका श्रीमान् कोहली बेलाबेला मैदानमा विवादमा पनि तानिने गरेका थिए । चाँडै रिसाउने स्वभावका उनले मैदानमा विपक्षी खेलाडीप्रति गरेको व्यवहारले उनलाई कहिँले काहीँ विवादमा पनि तान्ने गरेको थियो । 

प्रकाशित: २९ वैशाख २०८२ १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App