८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
खेल

दोस्रो इलाम गोल्डकपको आयव्यय सार्वजनिक

हिसाब सार्वजनिक गर्दै आयोजक। तस्बिरः भीम/नागरिक

गत मंसिरमा इलामको ठूलो टुँडिखेलमा सम्पन्न दोस्रो इलाम गोल्डकपको ९५ लाख रुपैयाँको आयव्यय सार्वजनिक गरिएको छ। आयोजक रेडहर्स फुटबल क्लबले सदरमुकाममा पत्रकार सम्मेलन गरी ९४ लाख ९५ हजार रुपैयाँको हिसाब-किताब सार्वजनिक गरेको हो।  

आयोजकका अनुसार विभिन्न दाता र गेटमनीबाट गोल्डकपका लागि आर्थिक संकलन भएको छ। आम्दानीतर्फ गैरआवासीय नेपालीको संस्था (एनआरएनए)बाट ५ लाख, इलाम नगरपालिकाबाट १० लाख, गोर्खा ब्रुअरीबाट साढे चार लाख, १ हजारको प्रि–टिकटबाट २ लाख ८० हजार, गेटमनीबाट १८ लाख ६३ हजार, नेपाल एयरलाइन्सबाट १ लाख, रेडपान्डा नेटवर्कबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ।  

सन नेपाल लाइफबाट १ लाख, सिजी फुड्सबाट १ लाख ४० हजार, तारा–रोजु सापकोटाबाट ५ लाख, रेडबुलबाट ५७ हजार, नेपाल टेलिकमबाट २० हजार, बिंगो खेलबाट ९ लाख ५० हजार, व्यक्तिगत सहयोगबाट ८ लाख ३८ हजार, सिजनल टिकटबाट ३ लाख ४५ हजार, पुरानो मौज्दात ९ ला ८८ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।  

आयोजक समिति अध्यक्ष साङ्गे योल्मोले १३ लाख रुपैयाँ उठ्न भने बाँकी रहेको बताए। ‘दाताले घोषणा गरेका सबै हिसाब उठिसक्दा १० लाख रुपैयाँ नाफा हुनेछ,’ उनले भने, ‘अब व्यक्तिगत रूपमा रकम उठ्न बाँकी छैन, संस्थागतमात्र भएकाले उठ्न बाँकी रकम पनि उठ्ने निश्चित छ।’

उनका अनुसार खर्चतर्फ पुरस्कार राशि १६ लाख ८९ हजार, प्यारापिट निर्माण २३ लाख ३७ हजार, विज्ञापन तथा प्रचार १ लाख ५५ हजार, खेलाडी टिम खर्च २२ लाख २० हजार, खाना–खाजा, होटलतर्फ ७ लाख ३६ हजार, रेफ्री खर्च २ लाख ६० हजार, सुरक्षा ९० हजार, स्टेसनरी ६४ हजार, ब्यानर, ट्रफी, मेडललगायत ४ लाख ८५ हजार छ।  

यसैगरी, बिजुली–पानी ५२ हजार, इन्धन १ लाख ५ हजार, यातायात ३५ हजार, अतिथि सत्कार, उद्घाटन, समापन समारोह २ लाख ४ हजार रुपैयाँ रहेको आयोजकको भनाइ छ। आयोजक समिति महासचिव प्रितम लिम्बूले हिसाब–किताब पारदर्शी रूपमा राखिएको बताए। ‘कतिपय रकम उठ्न बाँकी छ तर सबै हिसाब पारदर्शी छ,’ उनले भने, ‘टिकट विक्रीलगायतका सबै आम्दानी र सबैखाले खर्चको विस्तृत हिसाब राखेका छौं।’

इलामको ठूलो टुँडिखेलमा गत मंसिर २२ देखि २९ सम्म दोस्रो संस्करणको इलाम गोल्डकप सञ्चालन भएको थियो। डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी)ले लिग विजेता चर्च ब्वाइजलाई ३–० गोलान्तरले पराजित गर्दै यो गोल्डकपको ट्रफी उचालेको थियो। उपाधिसँगै एनआरटीले नगद १० लाख रुपैयाँ पुरस्कार पाएको थियो भने उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँमा चित्त बुझाएको थियो।

प्रकाशित: २७ वैशाख २०८२ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App