१७ माघ २०८२ शनिबार
image/svg+xml
खेल

पहिलो दिन पुरुषोत्तम र आशिष शीर्ष स्थानमा

नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष फुँयाल प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगितामा शीर्ष स्थान ओगट्न सफल भएका छन्।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा बिहीबार पहिलो दिन पाँच राउन्डको खेल सकिँदा समान पाँच अंक जोड्दै सिलवाल र आशिष शीर्ष स्थानमा रहेका हुन्। युवा खेलाडी पुरुषोत्तमले सिएम पुरुषोत्तम चौलागाईं र आशिषले प्रकाशचन्द्र नेपाललाई हराए।

एफएम क्षितिज भण्डारी, एफएम रूपेश जैसवाल र सुरोज महर्जन दोस्रो स्थानमा रहे। उनीहरूले समान ४.५ अंक जोडे। नेपाल च्याम्पियन रूपेश जैसवाल र क्षितिज भण्डारीबीचको खेल बराबरीमा सकिएको थियो।

सुरोजले कमल श्रेष्ठमाथि जित निकाले। भारतीय खेलाडी आशुतोषकुमार यादव चार अंक बटुलेर तेस्रो स्थानमा रहे। उनीसँगै नेपालका राजु ताम्राकार, प्रेमकृष्ण महर्जन, फुर्वा लामा, एआइएम अभिषेक शाह, पूर्णराज खड्का, प्रेम खड्का, सिएम भगवतीप्रसाद शर्मा, बद्रीलाल नेपालीले समान ४ अंक प्राप्त गरेका छन्। राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल र प्रभु महालक्ष्मी जीवन बिमाका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले चेस खेलेर प्रतियोगिताको सुरु गरेका थिए।

प्रकाशचन्द्र नेपाल, सिएम पुरुषोत्तम चौलागाईं, हर्कबहादुर चोङ्वाङ, उज्ज्वल दहाल, धीरेन राई, बेदु सरु मगर, योगेश श्रेष्ठ र गणेशबहादुर थापाले समान चार अंक जोडेका छन्। महिलामा नेसनल ‘बी’ च्याम्पियन विनीता कपाली र नेपाल विमेन च्याम्पियन सिन्दिरा जोशी अग्रस्थानमा रहन सफल भएका छन्।

प्रतियोगितामा नेपाल र भारतका गरी एक सय २४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। विजेताले नगद ४० हजार रूपैयाँसहित ट्रफी गर्नेछन्। साथै विजेताले एक वर्षका लागि १० लाख रूपैयाँबराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन्।

दोस्रो स्थान गर्ने खेलाडीले २५ हजार रूपैयाँ नगद पुरस्कार र सात लाख रूपैयाँबराबरको आवधिक बीमा प्राप्त गर्नेछन्। तेस्रो हुनेले १५ हजार रूपैयाँ नगद र पाँच लाख रूपैयाँको एक वर्ष अवधिको बीमा पाउनेछन्। उद्घाटन समारोहमा महासंघका उपाध्यक्ष डिबी बस्नेत, महाप्रबन्धक सुरेश थापा, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री गुरागाई, नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जनको उपस्थिति थियो।

प्रतियोगिता २०८२ वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ। संयुक्त राष्ट्रसंघले घोषणा गरेको ’अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता २०८२ वैशाख २५ गतेबाट सुरु भएको छ।

प्रकाशित: २६ वैशाख २०८२ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App