डोल्पाको मुड्केचुला गाउँपालिका-१ भोटाऔलमा सोमबार साँझ जिप दुर्घटना भएको छ।
रुकुम पश्चिमको त्रिवेणीबाट डोल्पाको मुड्केचुला खर्कतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बुढामगरका अनुसार साँझ करिब पौने ७ बजे भएको उक्त दुर्घटनामा हालसम्म ३ जना घाइते भएको विवरण प्राप्त भएको छ। घाइतेको संख्या बढ्न सक्ने उनी बताउँछन्।
उनका अनुसार जिपमा करिब १५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले उनले जानकारी दिए।
घाइतेहरूलाई उपचारका लागि रुकुम पश्चिमको आठबिसकोटस्थित एक अस्पतालमा लगिएको छ ।घटनास्थल प्रहरी कार्यालयबाट केही टाढा रहेकाले प्रहरी टोली पुग्ने क्रममा रहेको र थप विवरण आउन बाँकी रहेको छ।
दुर्घटनाको यकिन कारण अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
‘घटनास्थल दुर्गम भएकाले विस्तृत जानकारी सङ्कलन गर्ने कार्य भइरहेको छ,’ प्रहरी निरीक्षक बुढामगरले भने।
प्रकाशित: २१ वैशाख २०८३ २०:५६ सोमबार





