कमला चन्द र सीमा खड्का दुवै खेलाडीले ह्याट्रिक पूरा गरेपछि त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा रबाफिलो जित निकालेको छ।
ललितपुरको च्यासल फुटबल मैदानमा बुधबारदेखि सुरु प्रतियोगितामा महिलातर्फ आर्मीले मधेस प्रदेशमाथि ७–० गोलको रबाफिलो जित निकालेको हो। कमला र सीमा दुई खेलाडीले ह्याट्रिक पूरा गरेपछि आर्मीले उत्कृष्ट जित आत्मसात् गर्यो। पुलिसकी कमला चन्द प्लेअर अफ द म्याच घोषित भइन्।
नीलिमा पाण्डेको नाममा एक गोल रह्यो। आर्मीले पहिलो हाफमा तीन गोल गरेको थियो। तर, दोस्रो हाफमा चार गोल थप्दै मधेसमाथि फरालिको जित निकालेको हो। महिलामा एक विभागीय टोली आर्मीसहित गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले मात्र प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा हुँदै छ।
लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधि भिडन्त हुनेछ। पहिलो खेलमा उत्कृष्ट जित निकाल्दै आर्मीले शीर्ष दुईमा बलियो दाबेदारी दिने संकेत पनि गरेको छ। नेपाल हक्की संघको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा चार भारतीय निर्णायकले पनि खेल सञ्चालन गरेका छन्।
यस प्रतियोगितामा पुरुषतर्फ पनि आर्मीले सुखद सुरुआत गरेको छ। समूह ‘ए’ मा रहेको आर्मीले गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको हो। आर्मीको जितमा प्रदीप राजवंशी, काशिराज राई र देवसिंह धामीले गोल गरे। आर्मीका रोशन चौधरी प्लेअर अफ दी म्याच भए। गण्डकीले पहिलो र अन्तिम क्वार्टरमा भने आर्मीलाई रोकेका थियो।
तर, दोस्रो र तेस्रो क्वार्टरमा गोल सामना गरेपछि आर्मीलाई सहजै नतिजा सुम्पिन पुग्यो। लिग कम नकआउटका आधारमा भएको यस समूहमा आर्मी र गण्डकीसँगै मधेस र कोसी प्रदेश छन्। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन्।
एपिएफ हक्कीमा नयाँ टोली हो। समूह ‘बी’ मा अर्को विभागीय टोली पुलिसले पनि कर्णाली प्रदेशलाई ९–० ले हराउँदै सुखद सुरुआत गरेको छ। पुलिसको जितमा आयुष शाह र सुरेशप्रसाद जोशीले समान दुई गोल गरे। शंकर घर्तीमगर, नवराज खत्री, सुरज बोहोरा, काशिराम खत्री र अमित ओझाको नाममा समान एक गोल रह्यो। दुई गोल गरेका आयुष प्लेअर अफ दी म्याचसमेत भए।
कर्णालीले पहिलो क्वार्टरसम्म विभागीय टोलीलाई रोकेको थियो। त्यसपछि भने समालिन सकेन र पहिलो हाफमा नै ४–० गोलले पछि पर्यो। त्यसपछि कर्णालीले तेस्रो क्वार्टरमा एक र चौथो क्वार्टरमा चार गोल सामना गरेको हो। त्यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, बोर्ड सदस्यद्वय अञ्जन धमला र जगतसिंह धामी तथा बोर्डकी कार्यकारी सदस्य तथा संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले गरेका थिए। सो अवसरमा संघका उपाध्यक्ष मनीष झालगायत विभिन्न खेलका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।
संघको वार्षिक कार्यक्रमअनुसार सुरु राष्ट्रिय पुरुष हक्की वैशाख २६ गतेसम्म तथा राष्ट्रिय महिला हक्की प्रतियोगिता वैशाख २६ गतेसम्म हुनेछ। पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
प्रकाशित: १८ वैशाख २०८२ ०८:१९ बिहीबार