पूजा महतो महिला क्रिकेटको दुनियाँमा चर्चित नाम हो। पूजाको कप्तानीमा रहेको टिमले युएईलाई हराउँदै आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेपछि उनी एकाएक चर्चामा आएकी हुन्।
यो सफलतामा सबभन्दा ठुलो योगदान पूजाले पनि गरेकी थिइन्। उनले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरिन्। महोत्तरीको गौशाला नगरपालिका–९ डुवरबनाकी १८ वर्षीया पूजा विपन्न परिवारमा जन्मेकी हुन्। उनको सफलताले उनको कद मात्र नभई देशकै कद उँचो बनाएको छ।
गरिबीका कारण पूजाका बुवा रञ्जित महतो नौ वर्षकै उमेरमा भारतको नयाँ दिल्ली मजदुरी गर्न पुगेका थिए। लामो समय दिल्लीमा मजदुरी गरेर उनी घर फर्के र बिहे गरे। पूजा १५ महिनाकी छँदा रञ्जित सपरिवार मजदुरीका लागि दिल्ली पुगे। पूजा, उनकी बहिनी आरती र भाइले दिल्लीमै अध्ययन गरे। कक्षा १२ उत्तीर्ण पूजा नेपालमा प्रहरी वा सेना बन्न चाहन्थिन् तर कोभिडले उनको भाग्य बदलिदियो।
दिल्लीमा कोभिडले ठुलो मानवीय क्षति पुर्यायो। लामो समय विद्यालय बन्द रहे। मानिसहरू घरबाट निस्किँदैनथे। त्यतिबेला उनका भाइले कोभिडबाट जोगिन क्रिकेट खेल्न सुरु गरे। पूजा भाइलाई सधैं क्रिकेट एकेडेमीसम्म पुर्याउने र ल्याउने गर्थिन्।
‘कोच सरले मेरो भाइलाई दिदीलाई पनि क्रिकेट खेल्न लगाउनू भन्नुभएछ। पछि मेरो बुवालाई पनि कोच सरले सोही कुरा भन्नुभयो। बुवाले पैसा तिर्न नसक्ने कुरा गर्नुभयो। सरले छोरीले राम्रो गरे पैसा तिर्नुपर्दैन भन्नुभयो। त्यसपछि बुवाले क्रिकेट खेल्न पठाउनुभयो,’ पूजाले विगत सम्झिँदै भनिन्, ‘क्रिकेट खेल्न सुरु गर्दा यति ठुलो सफलता प्राप्त गर्छु भन्ने विश्वास थिएन तर अहिले जुन सफलता पाएँ, एकदमै खुसी छु।’
नेपाललाई विश्वकपमा पुर्याएपछि पूजाको परिचय फेरिएको हो। पहिले उनी घर आउँदा छरछिमेकले ‘दिल्लीवाली आई’ भन्ने गर्थे तर क्रिकेटमा सफलता प्राप्त गरेपछि गाउँघरका मानिसको नजरमा उनी ‘ठुली मान्छे’ भएकी छन्। अचेल उनलाई ‘पूजाजी’ भन्छन्।
आफ्नो सफलताको श्रेय उनी भाइ कृष्ण महतोलाई पनि दिन्छिन्। उनका भाइ नेपाल आएका बेला
यु–१६ मा छनोट भए। एउटा खेलमा म्यान अफ द म्याच बने। त्यसपछि क्यानका उपाध्यक्ष रोशन सिंहले भेटेका बेला भाइले ‘दिदी पनि क्रिकेट खेल्नुहुन्छ’ भनेर सुनाए। सिंहले पनि खेलेको भिडियो पठाउन भने। पूजाले दिल्लीबाटै क्रिकेट खेलेको भिडियो पठाइन्। त्यसपछि सिंहले नेपालमा खेल हेरेपछि एकैपटकमा टोलीमा समावेश गराएका थिए।
छोरी पूजाको सफलतामा बुवा रञ्जित दंग छन्। ‘मेरो चाहना थियो कि छोरीले नेपालको अन्डर–१९ खेलोस्, विश्वकपमा जाओस्। आज यस्तो सफलता प्राप्त गरिन्, म एकदमै खुसी छु,’ उनले भने। उनले आफ्नो घरकी जस्तो ‘पूजा’ हरेकका घरमा जन्मिनुपर्ने बताए।
कर्मयोगी पूजा
एक वर्षअगाडिसम्म नेपाली महिला क्रिकेटको कुनै पनि परिदृश्यमा पूजा थिइनन्। तर अहिले पूजा नेपाली महिला क्रिकेटको चर्चित नाम बनेको छ। यसका पछाडि उनको कर्मयोगी भाव र आत्मविश्वास प्रमुख हो।
एक वर्षका बिचमा उनी महिला राष्ट्रिय टोलीको मुख्य खेलाडी बनिन्, १९ वर्षमुनिको राष्ट्रिय टोलीको नेतृत्व गरिन् र टोलीलाई विश्वकपको ठुलो मञ्चमा उभ्याउन सफल भइन्। र, नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकप छनोट अभियानमा शतक बनाउने प्रथम महिला क्रिकेट खेलाडी बनिन्। उनी नेपालको मात्र होइन, विश्व महिला क्रिकेटकै एक लोकप्रिय खेलाडी बनिसकेकी छन्।
उनको प्रतिभाले यति छिटो विश्व महिला क्रिकेटलाई प्रभाव पार्यो कि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले भर्खरै सम्पन्न युवा विश्वकपको ‘ड्रिम टिम’मा पूजालाई समावेश गर्यो। त्यसबाहेक पनि केही गज्जबको कीर्तिमान उनको नाममा लेखिसकिएको छ। भर्खरै काठमाडौंमा सम्पन्न नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डका सिनियर महिला टोलीको त्रिदेशीय टी–२० लिगमा नेपालले एउटै खेल नजित्दा पनि पूजाले प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडीको उपाधि जित्नु त्यसकै प्रमाण हो। वर्षौं मेहनत गर्दा पनि कुनै खेलाडीको राष्ट्रिय टिमको जर्सी लगाउने चाहना पूरा भइरहेको हुँदैन। तर सुन्दा कथाजस्तै लाग्ने गरी डेढ वर्षभित्र पूजाले यति बिघ्न सफलता पाइसकेकी छन्। पूजाकै शब्दमा ‘यो कल्पना नगरेको एउटा सपना जस्तै हो।’
क्रिकेटतर्फ पाइला
कुनै योजना नभए पनि पूजाका पाइला अनायासै क्रिकेटतिर ढल्किए। कोभिडपछि भाइलाई क्रिकेट प्रशिक्षण केन्द्रमा पुर्याउन जाँदा उनलाई पनि खेल्न भनिएछ। दिल्लीको रोहतक रोड जिमखानामा प्रशिक्षक राजेश चौहानले नि:शुल्क प्रशिक्षणको व्यवस्था मिलाइदिएपछि पूजाको क्रिकेट यात्रा सुरु भयो। जुन काममा लागे पनि संकल्पका साथ दृढ भएर लाग्ने बानी भएकी पूजाले क्रिकेटलाई साधनाकै रूपमा लिइन्।
बिहान ४ बजे उठेर जिमखाना पुग्ने, त्यहाँ ८ बजेसम्म प्रशिक्षण लिने, दौडेर घरमा आउने र टिफिन बोकेर हतारहतार स्कुल जाने उनको दिल्ली दैनिकी थियो। स्कुलबाट फर्केर घरमा आइपुग्नेबित्तिकै उनी फेरि प्रशिक्षण केन्द्र गएर राति ८ बजे घर फर्कन्थिन्। उनको यो दैनिकी तीन वर्षसम्म लगातार चल्यो। पूजा सम्झिन्छन्, ‘कडा प्रशिक्षणका कारण स्कुलको पहिलो पिरियडमा म जहिल्यै निदाइरहेकी हुन्थें।’
उनी दुईवटा एकेडेमीमा प्रशिक्षण लिन्थिन्। बिहान युनिक क्रिकेट एकेडेमी र बेलुका रोहतक रोड जिमखानामा। रोहतकका प्रशिक्षक श्रवणकुमार भारतीय खेलाडी ईशान्त शर्माका पनि प्रशिक्षक थिए। युनिक क्रिकेटका प्रशिक्षक राजेश चौहानले पूजाको ब्याटिङ कला तिखार्न भूमिका खेले। ईशान्तले भने बलिङ कला सिकाइदिए। लगातारको मेहनतले उनमा एक किसिमको अलराउन्डरको कला भरिइसकेको थियो।
यता नेपालमा नेपाली महिला क्रिकेटबारे पूजालाई केही थाहा थिएन। एउटा संयोगले सधैंका लागि पूजाको पाइला नेपालतिर मोडियो। भएको के थियो भने भाइ कृष्ण महतो त्यसभन्दा अघिल्लो वर्ष नेपाल घुम्न आउँदा महोत्तरीको एउटा प्रतियोगिता खेल्न गएका थिए र एउटा खेलमा उनी ‘म्यान अफ द म्याच’ भए।
अनि भाइले ‘मेरी दिदी झन् राम्रो खेल्छिन्’ भनेर नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहलाई भनेपछि उनकै पहलमा पूजा नेपाल फर्केकी हुन्। भन्नै परेन, पहिलो ट्रायलमै उत्कृष्ट प्रदर्शनले उनी सिधै राष्ट्रिय टोलीमा छानिइन्। पूजाका लागि यो आश्चर्य नै थियो। उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता डेढ वर्षअगाडि मलेसियामा भएको आइसिसी वुमन टी–२० विश्वकप एसिया हो। त्यहाँ उनले हङकङविरुद्धको खेलमा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरिन्। ओपनरका रूपमा उनले १६ रन बनाइन् भने बलिङमा तीन ओभर फ्याँक्दा एक मेडन राखेर पाँच रन मात्र खर्चिइन्। ‘डेब्यु’ यादगार बनिदियो। त्यसपछि उनले फर्केर हेर्नुपरेको छैन।
पूजाले लाइनमा फ्याल्ने बल विपक्षीलाई सामना गर्न गाह्रै हुन्छ। ब्याटिङ गर्दा खेलको अवस्था बुझ्न सक्ने उनको गज्जबको क्षमता छ। उनको नेतृत्व क्षमता भने १९ वर्षमुनिको कप्तानको जिम्मेवारी सम्हालेपछि खुलेको हो। स्कुलमा उनी कक्षाको ‘मोनिटर’ थिइन् भने दिल्लीका दुवै क्रिकेट एकेडेमीमा पनि उनी कप्तान थिइन्। यो अनुभवले यु–१९ टोली सम्हाल्न पूजालाई कति पनि गाह्रो भएन। त्यसक्रममा ‘अलराउन्ड’ प्रदर्शन गरेकी पूजाले कुवेतविरुद्ध बनाएको शतक नेपाली महिला टोलीले कुनै पनि स्तरमा बनाएको दोस्रो शतकको कीर्तिमान हो। एसिया कप खेलेर उनको टोलीले पाकिस्तानलाई हराएर प्रभाव जमायो।
विश्वकपमा कुनै खेल नजिते पनि आइसिसीले प्रतियोगिताभरिकै उत्कृष्ट १२ खेलाडी छान्दा ‘एसोसिएट’ राष्ट्रबाट त्यसमा पर्ने पूजा एक्ली खेलाडी थिइन्। केही समयअघि मात्र नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमा अविजित ६२ रन बनाएर उनले टी–२० आईको दोस्रो अर्धशतक बनाइन्।
भारतीय भन्दा नेट पछाडि लुकेर रुन्थिन्
सुरुसुरुमा ‘तिमी त भारतीय हौ’ भन्दा वा ‘एकै पटक राष्ट्रिय टोलीमा कसरी ?’ जस्ता प्रश्नको सामना गर्नुपर्दा उनी नेटपछाडि लुकेर रुन्थिन्। तर विषम परिस्थितिको सामना गर्दै हुर्किएकी पूजाका लागि यस्ता शब्दबाणले अवरोध गरेन। उनी आँसु पुछेर दौडिरहिन्।
जति धेरै आलोचना भयो, त्यति नै उनको नेपाली क्रिकेटमा जम्ने अठोट बलियो बन्दै गयो। उनी भन्छिन्, ‘आलोचनाले मेरो संकल्पलाई झन् बलियो बनाउँछ र सुधार्छ जस्तो लाग्छ।’ अठार वर्षीय पूजाको क्रिकेट करिअर भर्खरै सुरु भएको छ। उनले क्रिकेटमा लामो यात्रा तय गर्न बाँकी नै छ। हुन पनि फराकिलो स्वभावकी पूजाले खेलकुदको कूटनीति त्यति बुझेकी छैनन्। उनी भन्छिन्, ‘धेरै कुरा सिक्न बाँकी छ। सिक्दै अगाडि बढ्दै जाने हो।’ यद्यपि पूजाले आफ्नो जीवनको लक्ष्य क्रिकेटलाई नै बनाउने निधो गरिसकेकी छन्।
क्रिकेटबाटै नाम कमाउने र देशका लागि योगदान दिने अनि आर्थिक स्थिति सुधार्ने उनको स्पष्ट योजना छ। सिनिअर राष्ट्रिय टोलीबाट पनि विश्वकप छनोट हुने पूजाको दीर्घकालीन लक्ष्य छ। सिनियर टोलीका खेलाडीहरू क्षमतावान् भएको बताउने पूजा अहिलेबाट नै योजना बुन्दै गए सिनिअर टोलीले पनि चाँडै नै विश्वकप खेल्न सक्ने विश्वास गर्छिन्। उनको ठुलो लक्ष्य भने परिवारको रेखदेख आफैं गर्नु हो।
क्यानको खेलाडी वर्गीकरणको ‘ग’ वर्गमा परेकी पूजाले मासिक ३० हजार रूपैयाँ पाउँछिन्। उनले राष्ट्रिय टोलीबाट खेल्दा पाउने पारिश्रमिक पनि जम्मा पारेकी छन्। उनले खेल मात्रै जितेकी छैनन्। सपना पनि जितेकी छन्। त्यो हो बुबाका लागि ‘स्कुटर’। उनी भन्छिन्, ‘बुबाले हामीलाई धेरै गर्नुभयो। मेरो कमाइको पहिलो उपहारस्वरूप बुबालाई ‘स्कुटर’ दिएकी छु। स्कुटर दिएपछि बुबाको अनुहारमा खुसीको भेल नै बगेको उनले सुनाइन्।
पूजालाई नेपाली टोलीको जरुरत थियो र राष्ट्रिय महिला टोलीलाई पूजा महतोजस्तो खेलाडीको खाँचो थियो। अबको दशकमा पूजाले नेपाली क्रिकेटमा थप तहल्का मच्चाउँदै जाने धेरैले ठानेका छन्। विश्वकपमा बाङ्लादेशलाई हराएर एसिया कप हारको बदला लिने अठोट गरेकी उनी भन्छिन्, ‘भिक्टरी इज स्विट बट रिभेन्ज इज द स्विटेस्ट।’
नेपाली क्रिकेट अब्बल बनाउन पूजाको जुक्ति
नेपालको महिला क्रिकेटको विकास गर्ने हो भने क्रिकेट एकेडेमीहरू हुन निकै जरुरी छ। त्यो चाहे क्यानले खोलेको होस् वा व्यक्तिले। उनी भन्छिन्, ‘म दिल्लीमा क्रिकेट सिकेर हुर्किएँ। त्यहाँ एकछिनकै फरकमा क्रिकेट एकेडेमीहरू भेटिन्छन्। यसले क्रिकेटको संस्कार बुझाउन धेरै सहयोग गर्छ।’
नेपालमा पनि विभिन्न स्थानमा एकेडेमीहरू हुने हो भने महिला, पुरुष दुवैको क्रिकेट विकास धेरै नै हुन्छ भन्छिन् उनी । थोरै मात्र एकेडेमी भएका कारण पुरुष क्रिकेटको पनि खासै विकास भइसकेको छैन। उनको गृहजिल्ला महोत्तरीमा त एउटा पनि क्रिकेट एकेडेमी छैन। म्याचहरू जिल्लाका प्रतियोगितामा खेल्न पनि सकिन्छ तर आधारभूत कुरा एकेडेमीमै सिक्ने हो भन्ने उनलाई लाग्छ ।
भारतमा पैसा तिरेपछि राम्रा एकेडेमीमा राम्रा सुविधाहरू पाइन्छन्। तर साना–साना एकेडेमीमा पनि आधारभूत कुराहरूमा धेरै ध्यान दिइन्छ। त्यही भएर भारतीय क्रिकेटरहरू ‘स्किलफुल’ हुने गरेको उनी देख्छिन्। उनी भन्छिन्, ‘मैले पनि क्रिकेटको ए–बी–सी–डी दिल्लीमै सिकें।
बढीभन्दा बढी अभ्यास खेलहरू र त्यसमा पनि ४० ओभरको खेल खेलाइए र त्यसमा पारंगत बनाउन सके, खेलको स्तर सुध्रने र कुशलता तिखार्न तिनले भूमिका खेल्ने उनी देख्छिन्। उनी भन्छिन्, ‘प्रशिक्षकले जति गरे पनि मैदानमा गएर खेल्न सक्दैन। एउटा खेलाडी भएर बुझ्नुपर्छ, राम्रो प्रशिक्षक आए नि नराम्रो प्रशिक्षक आए पनि खेल्ने खेलाडीले नै हो। हामीले राम्रो गरेपछि खेलाडीको नाम नै तुरुन्तै आइहाल्छ। टिमले नराम्रो गर्यो भने तुरुन्तै प्रशिक्षकको नाम आउँछ। हामी भने त्यही गल्ती गरिरहेका हुन्छौं।’
क्यानले आफ्ना तर्फबाट महिला क्रिकेटलाई माथि उठाउन प्रयासहरू गरिरहेको देख्दा पूजालाई खुसी लागेको छ। विभिन्न देशका टिमलाई नेपालमा खेल्न बोलाइरहेकोमा उनलाई गर्व लागिरहेको छ। उनी भन्छिन्, ‘हामी विश्वकप खेल्न सक्छौं। त्यो हाम्रो लक्ष्य हो। त्यसका लागि हामी दृढ पनि छौं।’
प्रकाशित: १३ वैशाख २०८२ १३:५३ शनिबार