१६ पुस २०८२ बुधबार
image/svg+xml
खेल

अपराजित ललितपुरलाई पोखरा

ललितपुरका कप्तान अनन्त थापा (बायाँ) र पोखराका कप्तान अनन्त थापा। तस्बिर: नागरिक

विवाद नै विवादले घेरिएको नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणले शनिबार नयाँ विजेता पाउँछ या उपाधि रक्षा हुन्छ भन्ने सबैको चासो छ।

यस संस्करणमा उत्कृष्ट पुनरागमन गरेको पोखरा र डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। जुन प्रतिस्पर्धा रोचक हुने आशा गरिएको छ।

ललितपुर अहिलेसम्म अपराजित टोली हो भने पोखराले पहिलो दुई खेलमा पाएको असफलताका बावजुद हरेक दिन सुधार गर्दै फाइनलसम्म स्थान बनाएको हो। त्यसैले पोखराले डिफेन्डिङ च्याम्पियन ललितपुरलाई कडा चुनौती दिन सक्नेछ। यस सिजन एउटै स्तरको उत्कृष्ट प्रदर्शन गरेको ललितपुर पनि पोखराका लागि बलियो प्रतिद्वन्द्वी हो। तर पनि दुवै टोली शनिबार सजग भएर खेल्ने लक्ष्यमा छन्।

साथै उपाधि जित्नका लागि दुवै टोलीले सोहीअनुरूप दाबेदारीका आधार पनि प्रस्तुत गरेका छन्। फाइनलअगाडि शुक्रबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने विश्वास व्यक्त गरेका छन्।

शनिबार हुने २५औं खेल प्रतिस्पर्धाले तेस्रो संस्करणको विजेता निर्धारण गर्दै छ। जहाँ अहिलेसम्म अपराजित टोली ललितपुर सिटीको सामना पोखरा थन्डर्सले गर्नेछ। यद्यपि, पहिलोपल्ट फाइनलमा पुगेको पोखरा यो अवसर सदुपयोग गर्न चाहन्छ।

शुक्रबार भएको पत्रकार सम्मेलनमा पोखराका कप्तान नवयुग श्रेष्ठले सुरुआती खेलमा राम्रो गर्न नसके पनि अहिले लयमा रहेकाले उपाधि जित्ने आशा व्यक्त गरेका छन्।

ललितपुरले फाइनलसम्म आइपुग्दा आफ्नो प्रदर्शनलाई सोही लेभलमा राखे पनि आफ्नो टोलीले पनि हरेक दिन सुधार गर्दै आएको उनको भनाइ छ। त्यसैले शनिबार हुने फाइनल प्रतिस्पर्धात्मक हुने नवयुग बताउँछन्। यद्यपि, उनले दुवै टोलीका लागि फाइनल सहज हुने पनि उल्लेख गरेका छन्।

धेरै चुनौतीहरू पार गरेर यहाँसम्म आइपुगेकाले यो अवसर खेर जान नदिने पक्षमा पोखरा रहेको छ। जितेरै जाने लक्ष्यसहित मैदान उत्रिए पनि फाइनलमा गर्ने प्रदर्शनको आधार नतिजा आउने उनी बताउँछन्। पहिलो दुई खेलमा हार बेहोरे पनि पोखराले उत्कृष्ट पुनरामन गर्दै प्लेअफमा स्थान बनाएको हो।

तेस्रो खेलबाट अपराजित पोखरा लिगमा चौथो स्थानमा थियो। यस क्रममा प्लेअफमा पोखराले इलिमिनेटरमा एफसी चितवन र दोस्रो क्वालिफायरमा धनगढीविरुद्ध १–० को जित निकाल्दै फाइनलसम्म यात्रा तय गरेको हो। उपाधिकै दाबेदार मानिएको धनगढीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पोखराले फाइनलमा पनि कडा चुनौती दिने संकेत गरिसकेको छ।

यता, अपराजित टोली ललितपुर सिटीका कप्तान अनन्त तामाङले ५÷६ दिनको आरामले टोलीका लागि फाइनलमा मानसिक र शारीरिक रूपमा तयार हुने समय मिलेको बताएका छन्। उनले यसअघि जस्तै राम्रो टिमवर्कबाट उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्।

यसअघि गरिएको गल्तीलाई सुधार गर्ने पनि लक्ष्य रहेको कप्तान अनन्त बताउँछन्। यसका लागि टोलीले पछिल्ला खेलका प्रदर्शन पनि विश्लेषण गरेर फाइनलका लागि तयार भएको कप्तान अनन्तको भनाइ छ। उनले पोखराले पहिलो दुई खेलपछि हरेक दिन सुधार गर्दै लगेको र त्यसकारण पनि फाइनलमा राम्रो खेल्नेमा दुई मत नरहेको बताएका छन्। तर, पोखराका कमजोर पक्ष औंल्याएर त्यहीअनुरूप तयारी पनि गरेको उनको भनाइ छ।

राम्रो खेलाडी मणिकुमार लामा मैदान फर्किएकाले टोलीको आत्मबल बढेको ललितपुर कप्तान अनन्तको विश्वास छ। बिना गल्ती रातो कार्ड सामना गरेका मणिको अपिल सफल हुनु सुखद पक्ष रहेको उनी बताउँछन्।

पोखराका प्रशिक्षक सुमन श्रेष्ठले फाइनल खेल्न पाउँदा र त्यहीअनुरूप टोलीले पनि राम्रो गरिरहँदा धेरै खुसी लागेको बताएका छन्। उनले योजनाअनुरूप सफल भए उपाधि जित्न सक्ने आशा व्यक्त गरेका छन्। यद्यपि, डिफेन्डिङ च्याम्पियन ललितपुरले पनि राम्रो खेलिरहेको र त्यसमा पनि दोस्रो खेल ३–२ को हार सामना गरेकाले फाइनलमा केही दबाब हुने पोखराका प्रशिक्षक सुमन श्रेष्ठ बताउँछन्।

ललितपुर सिटीका प्रशिक्षक साइमेन ग्रेसनले पनि फाइनलका लागि राम्रो रेस्ट टाइम मिलेको उल्लेख गर्दै यसले टोलीलाई मद्दत मिलेको बताएका छन्। उनले शारीरिक र मानसिक रूपमा आफ्नो टोली फाइनलका लागि तयार रहेको पनि उल्लेख गरेका छन्।

दुई फ्रेन्चाइच टोलीले हात झिकेपछि तेस्रो संस्करणमा सात टोलीले मात्र प्रतिस्पर्धा गरेका थिए। विवादहरूले घेरिएको तेस्रो संस्करणले शनिबार अन्ततः विजेता पाउने भएको छ। तर, नयाँ टोली विजेता हुनेछ या ललितपुरले उपाधि रक्षा गर्नेछ भन्ने हेर्न लायक हुनेछ।

पहिलो संस्करणको विजेता काठमाडौं ललितपुर यसपल्ट प्लेअफमा नै पुग्न असफल भयो। पुछारका दुई टोली झापा र बुटवल लुम्बिनीले एक खेल पनि नजिती तेस्रो संस्करणको यात्रा टुङ्ग्याए। पाँच खेलमा अपराजित रहेर पनि झापा प्लेअफमा पुग्न असफल रहेको टोली हो। एनएसएलको तेस्रो संस्करणमा नेपाली फुटबलमा नयाँ सुरुआत पनि भएको थियो। त्यो हो रातो कार्ड सामना गरेका खेलाडीको निर्णय अपिलमार्फत परिवर्तन पनि भयो।  

प्रकाशित: १३ वैशाख २०८२ ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App