दुई विभागीय टिम सशस्त्र प्रहरीको एपिएएफ क्लब र नेपाल पुलिस क्लब फेरी आमने–सामने हुदैछन् । नेपालगन्जमा जारी ‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेका दुबै विभागीय टिम मैदानमा उत्रिन लागेका हुन् ।
दुबै टिम बिचको फाइनल खेल नेपालगन्ज रंगशालामा शुक्रबार अपराह्न ४:३० बजे हुदैछ । यसअघिका प्रतियोगितामा लगातार उपाधि जितेको एपिएफ फेरी पनि जित दोहोर्याउने दाउमा देखिन्छ । यस्तै पुलिस क्लबले उच्च मनोबलका साथ मैदानमा उत्रिँदै नयाँ रेकर्ड ब्रेक गर्ने विश्वासमा रहेको छ । एपिएफका प्रशिक्षक भगवती थापाले आफ्नो टिमलाई लुम्बिनी कप पनि जित्ने दबाब रहेको बताइन् ।
‘प्रोफेसनमा गएको टिमलाई दबाब त हुन्छ नै, तर जित्नैपर्छ भनेर खेलाडीलाई धेरै प्रेसर गरेर मात्रै हुँदैन,’ उनले भनिन् । पुलिस क्लब आफ्नो टिमका लागि नयाँ प्रतिद्वन्द्वी नभएको प्रशिक्षक थापाले सुनाइन् । पुलिसका प्रशिक्षक सुमन सुवेदीले फाइनल खेलमा आफुहरु एपिएफलाई गोल गर्नबाट रोक्ने रणनीतिका साथ खेल्ने बताए । ‘हामीले एपिएफलाई जसरी हुन्छ रोक्ने नै हो, काउन्टर अट्याक गर्ने हो,’ उनले भने ‘हामीलाई उपाधिको भोक धेरै छ, यसपटक एपिएफलाई जित्छौँ जस्तो लाग्छ ।’
पुलिसका कप्तान निरु थापाले खेलमा हारजित हुनु स्वभाविक कुरा भएको बताउँदै भनिन्, ‘खेलमा जे पनि हुन्छ, मैदानमा छिरेपछि खेलाडीले जित्न कै लागि खेल्ने हो ।’
एपिएफका कप्तान अनिता बस्नेतले प्रतिद्वन्द्वीलाई कहिल्यै पनि कमजोर ठान्न नहुने बताइन् । ‘पुलिस क्लबका खेलाडी पनि बलियो नै हुनुहुन्छ,’ उनले भनिन् ‘उपाधि जित्ने मनोबलका साथ हामी मैदानमा छिर्नेछौँ ।’ जारी प्रतियोगितामा पुलिस क्लबले भारतको सिलगुडी एफसीलाई हराएर सेमिफाइनल र त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै एपिएफले कर्णाली प्रदेश फुटबल संघलाई हराएर सेमिफाइनल र रौतहट जिल्ला फुटबल संघलाई निराश पार्दै फाइनलमा पुगेको हो । अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा ८ वटा टिमले भाग लिएका छन् । प्रतियोगिताका विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रकाशित: ११ वैशाख २०८२ १८:१० बिहीबार





