विराटनगरमा ‘तेस्रो मनमोहन मेमोरियल कप क्रिकेट’ (एमएम कप) प्रतियोगिता हुने भएको छ ।
मंगलबार विराटनगरमा मनमोहन मेमोरियल कप फाउण्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा ‘तेस्रो एमएम कप क्रिकेट’ प्रतियोगिता हुन लागेको जानकारी गराएको हो ।
फाउण्डेसनका अध्यक्ष विप्लव घोषले पत्रकार सम्मेलनमा वैशाखा १३ देखि वैशाख २० गतेसम्म विराटनगरमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार यसअघि सुनसरीको इनरुवा हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करण विराटनगरमा आयोजना गर्न लागको बताए ।
दुई संस्कण इनरुवा सफलता पूर्व सम्पन्न भए पनि यस पटक प्राविधिक कारणले गर्दा इनरुवामा नगरी विराटनगरमा गरिएको हो । इनरुवाबाट सुरुवात गरेको प्रतियोगिता कोशी प्रदेश बाहेक अन्य प्रदेशमा गर्ने योजना रहेको अध्यक्ष घोषले भने ।
विगतका वर्षमा क्रिकेटको उर्वरभूमि भनेर चिनिएको कोशी प्रदेशमा पछिल्लो समय खेलाडी उत्पादन हुन छाडेको बताउँदै, अध्यक्ष घोषले भने, ‘क्रिकेटको उर्वरभूमि कोशी प्रदेशबाट विगतमा राष्ट्रिय टोलीमा कोही न कोही खेलाडी पर्ने गरेका थिए । विगतमा धेरै प्रतियोगिता हुनेहुँदा नयाँ खेलाडी उत्पादन हुन्थे । तर, पछिल्लो समय प्रतियोगिताहरु कम भएकै कारण र सम्बन्धित निकायले पनि नयाँ खेलाडी उत्पादन गर्नेतर्फ सोच नबनाएको हुँदा फाउण्डेसनले खेलाडी उत्पादनमा सहज हुने विश्वासका साथ प्रतियोगिताको तेस्रो संस्करण गर्न लागेको हो ।’
तीन तहको सरकार हुँदा पनि कोशी प्रदेशमा स्तरीय खेल मैदान छैन । भएका मैदानमा तीन तहको सरकारले समन्वय गरेर स्तरीय खेल मैदान निर्माण गरे नयाँ खेलाडी उत्पादन हुन्थ्यो, अध्यक्ष घोषले भने ।
वैशाखा १३ देखि वैशाख २० गतेसम्म हुने प्रतियोगितामा ३ विभागीय टोलीसहित ६ टोलीको सहभागिता रहेको छ । दुई समूहमा रहेको टोलीमा समूह ‘ए’ मा त्रिभूवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) र बागमती प्रदेश छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन् ।
५० ओभरको हुने खेल लिग कम नआउटका आधारमा प्रतियोगिता हुनेछ । दुई समूहको शीर्ष स्थानमा रहेका दुई टोलीबीच फाइनल खेल हुने अध्यक्ष घोषले बताए ।
प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाखका साथै ट्रफी, मेडल प्राप्त गर्ने छन् भने व्यक्तिगत विधातर्फ प्लेयर अफ द टुर्नामेन्टले २५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले जनही १५ हजारका साथै दैनिक हुने प्लेयर अफ द म्याचले ४ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।
प्रकाशित: ९ वैशाख २०८२ १९:३७ मंगलबार




