३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
खेल

पोखरा दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिग

एफसी चितवनसँग लिगमा बेहोरेको हारको बदला लिँदै पोखरा थन्डर्स आइतबार नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको इलिमिनेटरमा एफसी चितवनमाथि ३–० को रबाफिलो जित निकाल्दै पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीसँगको भेट पक्का गरेको हो। पोखराको जितमा जोई आइडुले दुई गोल गर्दा एक गोल आत्मघाती भयो। यससँगै पोखराले निकै विवादित बनेको लिगको आफ्नो पहिलो खेलमा चितवनसँग हारको बदला पनि लियो।

खेलाडीको श्रम स्वीकृति नभई खेलाउँदा उक्त खेल ढिला गरी सञ्चालन भएको थियो। जुन खेलमा चितवनले पोखरामाथि २–० को जित निकाल्दै सुखद सुरुआत गरेको थियो। पहिलो दुई सिजन खराब सुरुआत गरेको चितवन पहिलोपल्ट प्लेअफमा पुगेको हो। तर, इलिमिनेटरबाट यात्रा अगाडि बढ्न भने सकेन।

यसपल्ट पनि चितवनले पोखराविरुद्ध चुनौती दियो। तर, अन्तिम समय समालिन सकेन। १३ मिनेटभित्र तीन गोल गर्दै पोखराले चितवनमाथि जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरीमा नै सकिएको थियो। तर, दोस्रो हाफमा भने पोखराले तीन गोल ग¥यो। अब पोखराले दोस्रो क्वालिफायरमा आगामी बुधबार धनगढीसँग खेल्नेछ।

लिगमा भने यी दुई टोलीले गोलरहित बराबरीमा खेलेका थिए। धनगढीले गत शनिबार पहिलो क्वालिफायरमा ललितपुर सिटीसँग २–१ ले हार बेहोरेको हो। आइतबार भएको खेलमा पोखराले सुरुदेखि नै दबाब बनाएको थियो। अन्ततः गोल गर्दै जित पनि निकाल्यो।

त्यसअघि खेलको छैटौं मिनेटमा नै पोखराका आइडुको उत्कृष्ट प्रहार चितवनका गोलकिपर अमल नाइटले विफल बनाए। आयुष घलानको पास नियन्त्रणमा लिँदै आइडुले करिब २२ यार्डबाट गरेको सशक्त प्रहार चितवनका गोलकिपर अमलले पन्च गर्दै संकट टारे। ११औं मिनेटमा आइडुले अर्को अवसर बुने पनि सफल भएन। यसपल्ट उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पहिलो बारनजिकबाट बाहिरियो। १६औं मिनेटमा पनि आइडुले पेनाल्टी बक्सबाट गरेको अर्को प्रहार पोस्टको दिशामा रहेन। चितवनका सुमित श्रेष्ठले २४औं मिनेटमा अग्रता दिलाउने सुन्दर अवसर खेर फाले।

लामो पास नियन्त्रणमा लिँदै उनको पेनाल्टी बक्सनजिकैबाट लेफ्ट फुटेट सट पोस्टको दिशामा रहेन। ३०औं मिनेटमा चितवनका नीरज चौधरीको बाइसाइकल किक पनि पोखराका गोलकिपर गुइलौमे प्रिसोले सहजै नियन्त्रणमा लिए। त्यसपछि पहिलो हाफमा गोल निस्किएन र गोलरहित बराबरी भयो। दोस्रो हाफको सुरुमै चितवनका रोशन रानामगरले गरेको प्रहार सफल भएन। ४६औं मिनेटमा उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोखराका गोलकिपर प्रिसोले सहजै रोके। चितवनका टोरिक जेबरिनले ६१औं मिनेटमा दोस्रो बार च्याप्दै गरेको प्रहार पनि सफल भएन।

तर, ६३औं मिनेटमा अभिषेक लिम्बूको आत्मघाती गोलबाट पोखराले अग्रता लियो। पेनाल्टी बक्स बाहिरबाट स्टेफन बिनोङको सशक्त प्रहार चितवनका गोलकिपर अमलले पन्च गरे। सोही बल नियन्त्रणमा लिँदै समीर तामाङको क्रस क्लियर गर्ने क्रममा अभिषेक आफ्नै पोस्टमा गोल गर्न पुगे। यो गोलसँगै चितवन दबाबमा प¥यो। ७२औं मिनेटमा आइडुको उत्कृष्ट गोलमार्पmत पोखराले अग्रता दोब्बर बनायो।

पेनाल्टी बक्सबाहिरबाट आइडुको लेफ्ट फुटेट चिफ माथिल्लो बारमा लागेर गोलमा परिणत भयो। उनको त्यो सट चितवनका गोलकिपर अमलले पत्तै पाएनन्। ७६औं मिनेटमा पोखराले तेस्रो गोल गरेपछि चितवन पूर्ण दबाबमा प¥यो। चितवनका डिफेन्डरले पेनाल्टी बक्समा आइडुलाई मार्क गर्न नसक्दा उनले सहजै गोल गरेका हुन्।

पोखराले ३–० को अग्रता लिएसँगै खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो। चितवनका जेबरिनको ८३औं मिनेटमा गोल गर्ने सुन्दर अवसर पोखराका गोलकिपर प्रिसोले सफल हुन दिएनन्। करिब १८ यार्डबाट उनको सशक्त प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे। त्यसपछि चितवनले आक्रमण बुने पनि गोल गर्न सकेन र इलिमिनेटरमा नै यात्रा टुङ्ग्याउन बाध्य भयो। हारपछि एफसी चितवनका प्रशिक्षक नवीन न्यौपानेले आजको खेलमा राम्रो प्रदर्शन गर्न नसकेको बताए। ‘धेरै अवसर सिर्जना गर्न सकेनौं। त्यसमा पनि पहिलो गोल आत्मघाती भयो। त्यसपछि हामीले इफोर्ट बढाएर खेल्नुपर्ने हो। तर, खेलाडीले उल्टै छिटै हार माने,’ उनले भने, ‘हाम्रा खेलाडी पनि थकित देखिए। पहिलो गोलपछि रणनीति परिवर्तन गरेको थिएँ। तर, समालिन नपाउँदै गोल खान पुग्यौं र १३औं मिनेटभित्र तीन गोल बेहोर्यौं।’

आफ्नो टोलीले भन्दा पोखराले राम्रो खेलेको उनको भनाइ। आशा गरिएका विदेशी खेलाडी भिक्टोर मानसारेले अपेक्षा गरेअनुरूप खेल्न नसकेको उनले उल्लेख गरे। उनले आफ्नो पहिलो लक्ष्य चितवनलाई प्लेअफमा पु¥याउने भए पनि थप यात्रा गराउन नसक्दा दुःख लागेको बताए। पोखरा थन्डर्सका प्रशिक्षक सुमन श्रेष्ठले अन्ततः आफ्नो टोली लयमा आउँदा जित सम्भव भएको बताए। ‘चितवन राम्रो टोली हो। रणनीति परिवर्तन सफल हुँदा जित सम्भव भयो। सबैले इन्डिभिजुयल राम्रो प्रदर्शन गरे,’ उनले भने। धनगढीसँगको खेलमा पनि राम्रो खेल्ने उनको विश्वास छ।

प्रकाशित: ८ वैशाख २०८२ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App