बंगलादेशविरुद्धको पहिलो टेस्टमा जिम्बाब्वेले गतिलो जवाफ फर्काएको छ ।
सिल्हेटमा घरेलु टोली बंगलादेशलाई पहिलो इनिङ्समा १९१ रनमा अलआउट गर्दै आफ्नो इनिङ्स थालेको भ्रमणकारी टोलीले पहिलो दिनको खेलको समाप्तिमा आइतबार बिना क्षति ६७ रन बनाएको छ । क्रिजमा ब्रेन बेन्नेट ४० र बेन कुर्रान १७ रनमा छन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश मात्र ६१ ओभरमा १९१ रनमा अलआउट भएको थियो । मोमिनुल हकले ५६ र क्याप्टेन नज्मुल हुसेन सान्तोले ४० रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन ।
बंगलादेशलाई कम योगफलमा समेट्ने क्रममा ब्लेसिङ मुजरबानी र विलिङटन मासाकाड्जाले समान ३ तथा भिक्टोर याउची र विस्ली माधेभेरेले समान २ विकेट लिए ।
बंगलादेश भ्रमणमा रहेको जिम्बाब्वेले २ टेस्ट म्याच खेल्नेछ ।
प्रकाशित: ७ वैशाख २०८२ १८:३० आइतबार



-600x400.jpg)

