अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथिको प्रतिबन्ध फुकुवा भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको जानकारी उनले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै दिएका हुन्।
उनले सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही वैशाख २ गते (अप्रिल १५) मा सकिएको बताए। संगठित फुटबलमा संलग्ननतामा प्रतिबन्ध भएका थापाले अब सबैखाले प्रतिबन्ध टुंगिएको विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु। फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो। त्यो २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ,’ उनले लेखेका छन्।
प्रतिबन्धको १० वर्षे समयलाई अत्यन्तै चुनौतीपूर्ण रहेको बताउँदै थापाले त्यस अवधिमा आफूलाई साथ दिनेहरूप्रति धन्यवाद समेत व्यक्त गरे। साथै नेपाली फुटबलको विकास र विस्तारमा सधैं लागिरहने प्रतिबद्धता पनि उनले गरे।
प्रकाशित: ४ वैशाख २०८२ ११:२७ बिहीबार





