मोन्तिजो नेपाली समाज, पोर्चुगलले प्रथम ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर समाजले यही अप्रिल २० तारिखका दिन प्रथम मोन्तिजो कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो। खेलकुदको माध्यमबाट नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समाजका अध्यक्ष प्रवल भट्टराईले जानकारी दिए।
पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलमा क्रियाशील नेपाली सङ्घसंस्था र क्लबका गरी १६ भन्दा टोलीको सहभागिता रहने उनले बताए। प्रतियोगिताबाट बचत भएको रकमले पोर्चुगलमा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको योजना रहेको उनले सुनाए। प्रतियोगिताको विजेताले तीन हजार ५०० युरो नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले दुई हजार युरोसहित पुरस्कार प्राप्त गर्ने छन्।
यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकीपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई कप तथा प्रमाणपत्रले पुरस्कृत गरिने समाजले जनाएको छ। प्रतियोगितामा सहभागिताका लागि पोर्चुगलस्थित सङ्घसंस्था, क्लबका साथै खेलप्रेमीहरूलाई समाजले विशेष आग्रहसमेत गरेको छ। मोन्तिजोस्थित नगरपालिकाको खेल मैदानमा खेल हुने समाजले जनाएको छ।
सन् २०२३ मा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै विभिन्न खालका सामाजिक एवं रचनात्मक गतिविधिहरू गर्दै आएको छ। रासस
प्रकाशित: ४ वैशाख २०८२ ०८:२७ बिहीबार





