लुम्बिनी कप अन्तर्राष्ट्रय आमन्त्रण महिला फुटबल प्रतियोगितामा तीन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लबसहित आठ टोली सहभागी हुने निश्चित भएको छ। आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नेपालगन्ज रंगशालामा आगामी वैशाख ५ देखि १२ गतेसम्म प्रतियोगिता हुँदै छ। उक्त प्रतियोगितामा सहभागी हुने टोलीको घोषणा गर्दै अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले घरेलु टोली बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघका टोली प्रतिस्पर्धा गर्ने बताए।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको उक्त प्रतियोगिताको विजेता टिमले पाँच लाख ५ हजार ५५५ रूपैयाँ र उपविजेता टोलीले २ लाख ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत पनि गरिने शाहले बताए।
प्रतियोगितापछि नियमित रूपमा फुटबल प्रशिक्षण गर्ने तथा रंगशालाको भौतिक पूर्वाधार मर्मत सम्भारमा पनि सहयोग जुट्ने विश्वास गरे। प्रतियोगिता अवलोकन गर्नका लागि सिजनल फुल प्याकेज १५ सयको टिकट ब्यवस्था गरिएको छ। साथै विद्यार्थीका लागि सहुलियतको पनि ब्यवस्था गरिएको आयोजकले जनाएको छ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य भोजराज शाही, अखिल नेपाल फुटबल संघका निर्वतमान केन्द्रीय सदस्य प्रदेशसिंंह राठौर, अखिल नेपाल फुटबल संघका पूर्वउपाध्यक्ष गोबर्धनसिंह सम्झनालगायतले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कपले महत्त्वपूर्ण सहयोग गर्ने विश्वास गरे।
प्रकाशित: २८ चैत्र २०८१ ०८:५० बिहीबार





