नेपालका सात खेलाडीले प्रथम थाइल्यान्ड किक बक्सिङ वर्ल्ड कपमा प्रतिस्पर्धा गर्ने भएका छन्। उक्त वर्ल्ड कपमा प्रतिस्पर्धा गर्न सात खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको छ। उक्त प्रतिस्पर्धा चैत २५ देखि ३० गतेसम्म हुँदै छ।
प्रतियोगितामा कोसिश श्रेष्ठ, इरा लगुन, सन्जु सुम्बा तामाङ, सुनिम श्रेष्ठ, मन्जिता रन्जितकार, सन्जित शाही र सागर दर्जीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा रजिन तिवारी, अफिसियलमा सुनिता सुवर्णकार र ईश्वर लगुन तथा निर्णायकमा सुशील श्रेष्ठ छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबारै टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका थिए।
प्रकाशित: २६ चैत्र २०८१ ०८:२४ मंगलबार