७ कार्तिक २०८३ शनिबार
image/svg+xml
अर्थ

पीएचपी सुरक्षा जोखिम : कोर बैंकिङ प्रणाली सुरक्षित रहेको राष्ट्र बैंकको भनाइ

पीएचपी प्रोग्रामिङ प्रणालीमा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीले आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन्।

सम्भावित साइबर आक्रमणबाट जोगिन पूर्वसावधानी अपनाइएको राष्ट्र बैंकले जनाएको छ।

वेबसाइट बन्द हुँदा अनलाइन बैंकिङ, नयाँ खाता खोल्ने, केवाईसी विवरण अद्यावधिक गर्ने तथा केही डिजिटल भुक्तानी सेवामा अस्थायी अवरोध देखिएको छ।

यद्यपि, राष्ट्र बैंकका अनुसार यो कदम सुरक्षा जोखिम न्यूनीकरण र प्रणाली अद्यावधिक गर्ने उद्देश्यले चालिएको हो।

राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पीएचपीमा देखिएको जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा अनलाइन प्रणालीलाई इन्टरनेटबाट अलग राखिएको बताए। प्राविधिक टोलीले आवश्यक सुरक्षा अद्यावधिक गर्ने काम गरिरहेको उनले जानकारी दिए।

उनका अनुसार बैंक तथा वित्तीय संस्थालाई अनलाइन प्रणाली सञ्चालन गर्दा सतर्कता अपनाउन निर्देशन दिइएको छ। साथै, राष्ट्र बैंकमा गरिने केही प्रतिवेदनसम्बन्धी कामसमेत अफलाइन माध्यमबाट गर्न भनिएको छ।

राष्ट्र बैंकले हालसम्म बैंकिङ प्रणालीमा समस्या आएको वा सर्वसाधारणको रकम तथा व्यक्तिगत विवरण चोरी भएको पुष्टि नभएको स्पष्ट पारेको छ। वेबसाइट बन्द गरिनुलाई बैंक ह्याक भएको प्रमाणका रूपमा लिन नहुने पनि अधिकारीहरूको भनाइ छ।

नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार बैंकहरूले सम्भावित जोखिमबाट जोगाउन वेबसाइटमा रहेका सार्वजनिक विवरण तथा सेवाहरूको सुरक्षा जाँच गरिरहेका छन्।

उनका अनुसार वेबसाइटमा देखिएको समस्याले बैंकहरूको मुख्य बैंकिङ प्रणालीमा प्रत्यक्ष असर परेको छैन।

यसैबीच, केही बैंकले आवश्यक सुरक्षा अद्यावधिक पूरा गरी आफ्ना वेबसाइट पुनः सञ्चालनमा ल्याएका छन्। नबिल बैंकका सूचना प्रविधि प्रमुख प्रवेश पौडेलले बैंकका प्रमुख वेबसाइटहरू अद्यावधिक गरी सञ्चालनमा ल्याइएको र अनलाइन सेवामा अवरोध नरहेको जानकारी दिए।

पीएचपीसम्बन्धी सुरक्षा जोखिमका कारण नेपालमा मात्र नभई विश्वका विभिन्न सरकारी तथा निजी वेबसाइटसमेत प्रभावित भएका छन्। सम्भावित जोखिम नियन्त्रण गर्न सम्बन्धित निकायहरूले प्रणाली अद्यावधिक गर्ने वा सुरक्षा सुनिश्चित नहुँदासम्म वेबसाइट अस्थायी रूपमा बन्द गर्ने उपाय अपनाएका छन्।

प्राविधिक विज्ञहरूले जोखिमयुक्त सफ्टवेयर प्रयोग गर्ने संस्थालाई आवश्यक सुरक्षा प्याच तथा नयाँ संस्करण जडान गर्न र प्रणालीको सुरक्षा परीक्षण गर्न सुझाव दिएका छन्।

बैंक तथा वित्तीय संस्थाहरूले पनि जोखिम मूल्याङ्कन र सुरक्षा अद्यावधिक पूरा गरेपछि मात्र प्रभावित सेवाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरेका छन्।

प्रकाशित: ६ कार्तिक २०८३ १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App