अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच नयाँदिल्लीमा संक्षिप्त भेटवार्ता भएको छ। ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सहभागी हुने क्रममा बिहीबार राति दुई नेताबिच भेट तथा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित समिटमा प्रधानमन्त्री मोदीले सम्बोधन गरेको सत्रमा अर्थमन्त्री वाग्ले अतिथिका रूपमा सहभागी भएका थिए। सत्र सकिएपछि उनीहरूबिच संक्षिप्त कुराकानी भएको हो।
भेटवार्ताका क्रममा के विषयमा छलफल भयो भन्नेबारे भने अर्थ मन्त्रालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
समिटमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्लेले ‘निकटताबाट समृद्धिः भारत-नेपाल अवसर’ शीर्षकको विशेष सत्रलाई पनि सम्बोधन गरेका छन्। उक्त सत्रमा उनले नेपाल र भारतबिचको आर्थिक सम्बन्ध तथा सहकार्यका अवसरबारे धारणा राखेका थिए।
त्यसैगरी, भारतका विदेशमन्त्री डा.एस. जयशंकरले सम्बोधन गरेको समिटको विशेष सत्रमा पनि अर्थमन्त्री वाग्ले सहभागी भएका थिए। उक्त सत्रमा बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय परिस्थितिबारे दुई नेताबिच प्रश्नोत्तर भएको जनाइएको छ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका अर्थमन्त्री वाग्लेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध र आर्थिक सहकार्यका विषयमा विचार आदानप्रदान गर्ने अवसरका रूपमा हेरिएको छ। यद्यपि मोदीसँगको भेटमा कुनै औपचारिक सहमति वा निर्णय भएको विवरण सार्वजनिक गरिएको छैन।
प्रकाशित: ६ कार्तिक २०८३ १३:५१ शुक्रबार




-600x400.jpg)
-600x400.jpg)