२० चैत्र २०८१ बुधबार
image/svg+xml ८:२ पूर्वाह्न
खेल

ब्वाइज युनियनको लगातार तेस्रो बराबरी

 ब्वाइज युनियनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार तेस्रो खेलमा बराबरी खेलेको दिन बाँसबारीले कठिन जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार ब्वाइज युनियन र झापा एफसीले १–१ को बराबरी खेलेका हुन्। दोस्रो खेलमा बाँसबारीले ब्रिगेड ब्वाइजमाथि १–० को कठिन जित निकाल्यो। सन्दीप लिम्बूको गोल नै निर्णायक बनेपछि बाँसबारीले जित प्राप्त गरेको हो।

 अर्को खेलमा झापाले अग्रता जोगाउन नसक्दा अंक बाँड्यो। झापा र ब्वाइज युनियनले पहिलो हाफमा नै गोल गरेका थिए। पहिलो हाफको अन्तिम मिनेटमा झापाले निकेश श्रेष्ठको गोलमा अग्रता लियो। तर, यो अग्रता लामो समय टिक्न सकेन। इन्जुरी समयमा ब्वाइज युनियनका लागि सञ्जीव लामाले बराबरी गोल फर्काए।

दुवै टोली पहिलो जितको खोजीमा थिए। यी दुईले नै दोस्रो हाफमा गोलका केही अवसर सृजना गरे। तर, गोल भने हुन सकेन। यो नतिजासँगै ब्वाइज युनियन तीन अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ। झापा १२औं स्थानमा यथावत् छ।

अर्को खेलमा बाँसबारीले भने कठिन जित निकाल्यो। जितसँगै तीन खेलबाट ६ अंक जोडेको बाँसबारी तेस्रो स्थानमा उक्लिएको छ। पराजित ब्रिगेड ब्वाइज समान खेलबाट तीन अंकका साथ आठौं स्थानमा छ। एन्फा कम्प्लेक्स मैदानमा बाँसबारीलाई जित दिलाउन सन्दीप लिम्बुले गरेको गोल नै पर्याप्त बन्यो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा नै सकिएको थियो। तर, दोस्रो हाफमा बाँसबारी गोल गर्न सफल भयो।

सन्दीपले ६७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछिको बाँकी समयमा ब्रिगेडले गोल फर्काउन सकेन र हार बेहोर्‍यो। इन्जुरी समयमा निशान्त रावतले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि बाँसबारी १० खेलाडीमा समेटिएको थियो। तर, बाँसबारीले त्यसको ठूलो क्षति भने बेहोर्नु परेन।  

प्रकाशित: १६ चैत्र २०८१ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App