काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले उद्घाटन खेलमा शनिबार जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गर्ने लक्ष्य राखेका छन्।
दशरथ रंगशालामा शनिबार एनएसएलको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले प्रतिस्पर्धा गर्दै छन्। यससँगै आगामी वैशाख १३ गतेसम्म सञ्चालन हुने एनएसलको तेस्रो संस्करणको औपचारिक रूपमा सुरुआत हुनेछ। यसपल्ट सात फ्रेन्चाइज टोलीले एनएसएलमा चुनौती प्रस्तुत गर्दै छन्। शुक्रबार फ्रेन्चाइज टोलीका प्रशिक्षक र कप्तानसँगको पत्रकार सम्मेलनमा काठमाडौं र ललितपुर दुवैले जितका साथ यस संस्करणको सुरुआत गर्ने आशा व्यक्त गरेका छन्। दुवै पूर्वविजेतासमेत हुन्। काठमाडौंले पहिलो र ललितपुरले दोस्रो संस्करणको उपाधि जितेका थिए।
शुक्रबार भएको पत्रकार सम्मेलनमा काठमाडौं रेजर्सका कप्तान कुलदीप कार्कीले सबै टोली बलिया रहेकाले प्रतिस्पर्धा राम्रो हुने अपेक्षा गरेका छन्। काठमाडौंका प्रशिक्षक प्याट्रिक विल्डीले आफ्नो टोली एक समय च्याम्पियन रहेको र डिफेन्डिङ च्याम्पियनका रूपमा खेल्ने प्रयास गर्ने बताए। यद्यपि, यसपल्ट छोटो समयको तयारी र सबै टोली उस्तै स्तरको रहेकाले सहज नहुने उनको भनाइ छ। ललितपुर पूर्वच्याम्पियन हो। उनीहरूसँग राम्रा खेलाडी, प्रशिक्षक छन्। त्यसैले ललितपुरसँगको खेल प्रतिस्पर्धात्मक हुने र राम्रो खेल्ने प्रयास गर्ने काठमाडौंका प्रशिक्षक बताउँछन्।
ललितपुरका कप्तान अनन्त तामाङले आफू ढिला मात्र टोलीसँग जोडिए पनि टिमको तयारी प्रभावकारी भएकाले जित निकाल्ने आशा व्यक्त गरेका छन्। नयाँ प्रशिक्षकको नयाँ रणनीतिमा खेल्न आफूहरू आतुर रहेको उनको भनाइ थियो। ललितपुर सिटीका प्रशिक्षक साइमन ग्रेसनले टिमको तयारी राम्रो रहेको र खेलाडीहरूले पनि मिहिनेत गरेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गरेका छन्। आफू नेपालमा छुट्टी मनाउन नआएको र जित दिलाउन लक्ष्यसहित आएको पनि उल्लेख गरेका छन्। टोलीमा राष्ट्रिय खेलाडीहरू रहेकाले टिम सेट गर्न सजिलो भएको उनको बुझाइ थियो।
धनगढीका प्रशिक्षक म्यानुएल साइजले सबै खेलमा प्रतिशत दिएर खेल्ने बताएका छन्। खेलाडीले पनि सोहीअनुरूप प्रशिक्षणमा मिहिनेत गरिरहेको उनको भनाइ छ। नेपाली खेलाडीहरू धेरै मिहिनेतका साथ खेल्छन्। धनगढीका देवेन्द्र तामाङले पहिलो लक्ष्य प्लेअफमा पुग्ने र त्यसपछि फाइनलमा पुग्ने रहेको बताए। उनले अगाडि भने, ‘यसपल्ट फाइनलमा पुग्दा उपाधि जित्ने गरी खेल्छौं।’ बुटवल लुम्बिनी एफसी पुष्पलाल शर्माले चुनौतीलाई सहज रूपमा लिएर अगाडि बढ्ने बताएका छन्। छोटो समयमा नेपालको फुटबल टोलीमा रहेर काम गर्न पाउँदा उत्साहित रहेको उनले उल्लेख गरे।
बुटवल लुम्बिनी एफसीका मनीष डाँगीले राष्ट्रिय टोलीमा रहेका खेलाडी पछि मात्र टोलीमा आबद्ध रहेकाले सुरुआतमा केही कठिनाइ हुन सक्ने बताए। तर, तयारी राम्रो भएकाले छिट्टै एक भएर खेल्ने र जित निकाल्ने उनको विश्वास छ। उनले विदेशी खेलाडीजस्तै स्वदेशी खेलाडीले पनि राम्रो प्रदर्शन गर्ने बताएका छन्। एफसी चितवनका प्रशिक्षक नवीन न्यौपानेले दोस्रो संस्करणमा पोखरा थन्डर्सलाई प्रशिक्षण गरेको र लिगको शीर्ष स्थानसम्म पु¥याएको स्मरण गर्दै चितवनलाई सो नतिजा दिलाउन प्रयत्न गर्ने बताएका छन्। चितवन एफसीले पछिल्ला दुई संस्करणमा प्लेअफमा स्थान बनाउन सकेको थिएन र त्यसैले यसपल्ट त्यो सफलता दिलाउन मलाई चुनौती पनि रहेको छ।
उनले आफूसँग दुई हप्ता तयारी समय पाएको र त्यसमा नेपालका राष्ट्रिय खेलाडी पछि मात्र जोडिएको बताए। उनले भने, ‘खेलाडीबीच राम्रो बोन्डिङ हुँदा सुखद नतिजा आउन सक्ने भएकाले त्यसमा ध्यान दिएर तयारी गरेको छु।’ उनले विदेशी खेलाडी पनि छिटै घुलमिल भएकाले टिम बोन्डिङ राम्रो बनेकाले आफू खुसी रहेको बताए। एफसी चितवनका कप्तान अञ्जन विष्टले चुनौतीभन्दा पनि टोलीलाई राम्रो नतिजा दिलाउने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन्। गत संस्करणमा चोटका कारण त्यति राम्रोसँग खेल्न नसकेको तर पनि सक्ने प्रयास गरेको उनको भनाइ छ। यसपल्ट भने चोट नभएको अवस्थामा राम्रो खेल्ने उनी बताउँछन्।
पोखरा थन्डर्सका सुमन श्रेष्ठले तयारी गर्न समय अभाव भए पनि तयारी राम्रो भएको बताए। गत संस्करण लिगमा शीर्ष स्थानमा रहे पनि फाइनलमा पुग्न असफल भएको स्मरण गर्दै उनले यसपल्ट उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताएका छन्। दुई हप्ताको तयारीमा नै उत्कृष्ट प्रदर्शन गर्न सक्छौं भन्न नसकिने भए पनि राम्रो नतिजा निकाल्ने आशामा रहेको उनी बताउँछन्। समीर तामाङ ‘बी’ क्लब प्लानिङ बोइजमा रहे पनि उनले आफ्नो टोलीबाट खेल्ने प्रशिक्षक सुमनको भनाइ छ। पोखरा थन्डर्सका कप्तान नवयुग श्रेष्ठले केही चुनौती भए पनि सबैलाई पार गरेर राम्रो नतिजा दिलाउने बताएका छन्।
आफू शतप्रतिशत दिएर खेल्ने आशासहित उत्रने उनको भनाइ छ। झापा एफसीको टोली भने पत्रकार सम्मेलनमा उपस्थित भएन। यसपल्ट ६ जना खेलाडीसम्म उतार्न पाउने प्रावधान छ। यस संस्करणको एनएसलमा सात टोलीले मात्र प्रतिस्पर्धा गर्दै छन्।
वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका हुन्। यस संस्करणको एनएसएल आगामी वैशाख १३ गतेसम्म हुँदै छ।
रर
प्रकाशित: १६ चैत्र २०८१ १०:०७ शनिबार