किरण ठगुन्नाको शतकीय पारी खेलेपछि सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । देउखुरी अन्तराष्ट्रिय स्टेडियममा आइतबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ३१ रनले हरायो ।
सुदूरपश्चिमले दिएको २४३ रनको लक्ष्य पछाएको कोशी ४५.१ ओभरमा २११ रनमा अलआउट भयो । सकिब हकले ६२, क्याप्टेन अंकित सुवेदी र समिर कार्कीले समान ३२ तथा आयिश भट्टराईले ३६ रन बनाएपनि हार भने टार्न सकेनन् ।
सुदूरका लागि बलिङमा सौर्य श्रेष्ठले ३ र भोजराज भट्टले २ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४३.४ ओभरमा सबै विकेट गुमाएर २४२ रनको योगफल तयार पारेको थियो ।
छैटौं क्रमका क्रिजमा आएका किरण ठगुन्नाले ८१ बलमा ११ चौका र ४ छक्काको मद्दतमा ११५ रनको उल्लेख्य पारी खेले ।
बलिङमा ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट झारे। फिर्दोश अन्सारी र अंकित सुवेदीले समान २ विकेट लिए।
जितपछि पनि ८ खेलबाट मात्र ६ अंक भएको सुदूरपश्चिम फाइनल दौडबाट बाहिरिसकेको छ। मात्र २ अंक भएको कोशीको यो सातौं हार हो।
प्रकाशित: १० चैत्र २०८१ १८:११ आइतबार