भिनिसियस जुनियरले इन्जुरी समयको नवौं मिनेटमा गोल गरेपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियामाथि २–१ को नाटकीय जित हासिल गरेको छ।
पाँचपल्टको विश्वकप च्याम्पियन ब्राजिलले ब्राजिलियामा भएको खेलको छैटौं मिनेटमा नै अग्रता लिएको थियो। राफिन्हाको पेनाल्टी गोलबाट ब्राजिलले अग्रता लिएको हो। तर, ४१औं मिनेटमा लुइज डियाजको गोलबाट कोलम्बिया खेलमा फर्किन सफल रह्यो।
दोस्रो हाफमा निकै दबाब सामना गरे पनि कोलम्बिया खेल समाल्न सफल भइरहेको थियो। तर, रियाल मड्रिडका विंगर भिनिसियस नाटकीय गोल गर्न सफल भए। यो जितसँगै ब्राजिल १० देश सम्मिलित दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा उक्लिन सफल भयो। यस क्षेत्रबाट ६ राष्ट्रले आगामी वर्ष क्यानडा, अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा हुने विश्वकपमा स्थान बनाउनेछन्। ब्राजिलका प्रशिक्षक डोरिभल जुनियरका लागि यो जितले दबाब केही मात्रामा कम भएको छ।
किनकि अब ब्राजिलले आगामी खेल लियोनल स्कालोनीको अर्जेन्टिनासँग खेल्नेछ। यी दुई दक्षिण अमेरिकी पावर हाउस पछिल्लोपल्ट सन् २०२३ मा रियो दि जेनेरियोमा भेट भएका थिए। जुन नतिजा १–० ले अर्जेन्टिनाको पक्षमा रहेको थियो।
अर्जेन्टिना ब्राजिलभन्दा अंकतालिकामा बलियो स्थिति र सन् २०२६ को विश्वकपनजिक पनि छ। ड्यानिइल मुनोजले भिनिसियसलाई लडाएपछि ब्राजिलले पेनाल्टी अवसर पाएको थियो। उक्त पेनाल्टी अवसरलाई राफिन्हाले ‘सर्ट रनअप’ मार्फत सफल बनाए। आत्मविश्वासपूर्वक लिएको पेनाल्टीबाट सफलतासँगै घरेलु टोलीले छिट्टै अग्रता लिएको हो।
तर, पहिलो हाफ सकिनु भन्दा चार मिनेटअगाडि कोलम्बियाले गोल फर्कायो। जेम्स रोड्रिग्वेजको पास सदुयोग गर्दै लिभरपुलका स्टार डियाजले बललाई जाली चुमाएका हुन्। ६८औं मिनेटमा पनि कोलम्बियाको उत्कृष्ट मुभलाई ब्राजिलका गोलकिपर एलिसन बेकरले सफल हुन दिएनन्।
डियाजका लिभरपुलका सहकर्मीसमेत रहेका बेकर ७८औं मिनेटमा चोटका कारण बाहिरिन पुगे। उनी कोलम्बियाका डेभिनसन सान्चेजसँग ठोकिन पुगेका थिए। कोलम्बियाले पनि केही आक्रमण बुन्यो। ब्राजिलले पनि चुनौती दियो। गुइलहेर्मे एरनाले ८२औं मिनेटमा गरेको प्रहार पोस्टनजिकबाट नै बाहिरिन पुग्यो।
एलिसनको चोटका कारण धेरै समय अतिरिक्त समय थप गरिएको थियो। त्यो समयको भिनिसियसले सदुपयोग गरे। ‘आजको गोलले राहत मिलेको छ। केही खुसी पनि छ। राष्ट्रिय टोलीबाट खेल्नुको आनन्द वयान नै गर्न सक्दिनँ,’ भिनिसियसले भने, ‘हामी सधैं जितका लागि आउँछौं। तर, आज पहिलोपल्ट हो जस्तो भएको छ।’
ब्राजिलल अब मंगलबार शीर्ष स्थानको अर्जेन्टिनाको सामना गर्दै छ। यता, कोलम्बियाका लागि भने यो नतिजाले असहज बनाएको छ। यो हारसँगै कोलम्बिया छैटौं स्थानमा छ भने छनोटका लागि अझैं संघर्ष गर्नुपर्नेछ।
‘हामीले ब्राजिललाई रोक्न खोजेका थियौं। यसपल्ट राम्रो नतिजाका लागि योग्य थियौं। तर, हुन सकेन। रेफ्रीको निर्णयप्रति पनि सन्तुष्ट छैनौं,’ कोलम्बियाका प्रशिक्षक नेस्टोर लोरेन्जोले भने। अवे खेलमा आफ्नो टोलीले राम्रो प्रदर्शन गरेको लोरेन्जोको विश्वास छ। छिटो गोल सामना गर्नुले पनि समस्या भएको उनले औंल्याएका छन्।
कोलम्बियाले भने अर्को हप्ता पाराग्वेलाई आतिथ्यता गर्नेछ। दक्षिण अमेरिकी अर्को छनोट खेलमा पाराग्वेले पुछारको चिलीलाई १–० ले हराउन सफल भयो। ६०औं मिनेटमा ओमार एल्डेरेटेले गरेको गोल नै पाराग्वेलाई तीन अंक दिलाउन पर्याप्त भएको हो।
४१ वर्षे स्ट्राइकर पाउलो गुइरेरोको पेरूले बोलिभियालाई ३–१ ले पराजित गर्यो। पेरूले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो। ३८औं मिनेटमा एन्डी पोलोले गोल गर्दै अग्रता दिलाएका थिए। गुइरेरोले पहिलो हाफको थप समयमा गोल थपे। ५८औं मिनेटमा मिगुल टेर्सेरोसको पेनाल्टी गोलबाट बोलिभियाले खेलमा फर्कने प्रयास गरेको थियो। तर, ८२औं मिनेटमा इडिसन फ्लोरेसले गोल गर्दै पेरूलाई सहज जित दिलाए। हारका बावजुद बोलिभिया १३ अंकसहित सातौं स्थानमा यथावत् छ। अझै विश्वकपमा स्थान बनाउनका लागि इन्टर कन्टिनेन्टल प्लेअफको होडमा छ। पेरू भने १० अंकसहित नवौं स्थानमा छ।
प्रकाशित: ९ चैत्र २०८१ ०९:१४ शनिबार





