२६ असार २०८२ बिहीबार
image/svg+xml
खेल

राम्रो खेलेपनि नतिजा आउन सकेनः कप्तान बर्मा

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले राम्रै क्रिकेट खेले पनि नतिजा आउन नसकेको बताएकी छिन्।

युगाण्डामा चार देश सम्मिलित टी ट्वान्टी वुमेन्स डे कपमा खराब प्रदर्शनसहित नेपाली टोली बुधवार स्वदेश फर्किएको छ । उपाधि जित्ने लक्ष्यसहित युगाण्डा गएको नेपालले कुल ६ मध्ये दुई जित र चार हार सामना गरेको थियो ।

बुधबार स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकी कप्तान इन्दुले आफ्नो टोलीले खराब क्रिकेट नभइ राम्रो क्रिकेट खेले पनि दुर्भाग्यवश राम्रो नतिजा नआएको बताइन्। यद्यपि, उनले युगान्डा भ्रमणका क्रममा आफ्नो टोलीले राम्रो अनुभव बटुलेको विश्वास व्यक्त गरिन्।

युगाण्डा, नामिबिया र हङकङ राम्रा टिम रहेको र ती टोलीसँग खेल्न पाउनु नेपालका लागि एक्सपोजर मिलेको उनले बताइन्। तर नतिजाका रूपमा श्रृंखलामा भने हाम्रो राम्रो नभएको उनले बताइन्। नेपालको जस्तै पिच कन्डिसन भए पनि नतिजा आउन नसकेको उनले स्वीकार गरिन्। श्रृंखला ससाना गल्ती भइरहेको र त्यसमा आफूले नै भुमिका खेल्नुपर्ने भएपनि व्यक्तिगत रूपमा आफूबाट पनि राम्रो प्रदर्शन नभएको उनको भनाइ छ । आफूले पनि अझ राम्रो खेलेको भए केही खेलमा जित सम्भव रहेको कप्तान इन्दुले बताइन्।

कप्तान इन्दुले युवा खेलाडीले यस शृंखलामा राम्रो प्रदर्शन गरेको उल्लेख गरिन्। ती खेलाडीले यसरी नै एक्सपोजरमा पाएमा अझै राम्रो क्रिकेट खेल्ने विश्वास कप्तान इन्दुको छ । कप्तान इन्दुले उत्कृष्ट टोलीसँग क्रिकेट खेलेकाले एसिया क्वालिफायरका लागि तयारी प्रभावकारी भएको बताइन्। नतिजा नआए पनि पहिलेको क्रिकेट शैली र अहिलेमा धेरै पक्षमा सुधार आएको उनको विश्वास छ । महिला क्रिकेटलाई जतिसक्दो धेरै एक्सपोजर दियो त्यति नै राम्रो नतिजा आउने सम्भावना रहेको उनी बताइन्। कप्तान इन्दुले नतिजा आउन समय लागे पनि नेपाली महिला टोलीको भविष्य राम्रो रहेको विश्वास व्यक्त गरिन्। 

प्रकाशित: ६ चैत्र २०८१ १५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App