५ चैत्र २०८१ मंगलबार
image/svg+xml १२:५९ अपराह्न
खेल

क्षितिज र नीतालाई ब्याडमिन्टनको उपाधि

एपिएफका क्षितिज खनाल र नेपाल प्रहरीकी नीता लम्सालले सोमबार तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्। क्षितिज पुरुष र नीता महिलामा च्याम्पियन बने। नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा क्षितिजले नेपाल आर्मीका विवेक चौधरीलाई २१–८ र २१–१५ को सोझो सेटमा पराजित गरे। धादिङका सुजन थापा र एपिएफका भोजबहादुर गुरुङ तेस्रो भए।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भएको महिला फाइनलमा नीताले आर्मीकी अनुमाया राईलाई सीधा सेटमा २१–१२ र २१–१३ ले हराइन्। आर्मीकी शेस्ना सिर्पाली र स्पोर्ट्स हबकी सीताकुमारी राई तेस्रो बने। पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। यु–१७ पुरुष सिंगल्समा प्रहरीका कविर केसीले स्वर्ण जिते। उनले फाइनलमा आर्मीका सुविन श्रेष्ठलाई २१–१०, १६–२१ र २१–११ को सेटमा पाखा लगाए। फिट्नेस पार्कका अमन डंगोल र लभ बिएका इमा तामाङ तेस्रो स्थानमा रहे। पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५/५ हजार नगद पुरस्कार हात पारे।

मिक्स डबल्समा एपिएफका क्षितिजले शोभा गौचनसँग मिलेर अर्को स्वर्ण जिते। उक्त जोडीले फाइनलमा प्रहरीका जीवन आचार्य र नीता लम्सालको जोडीलाई २१–१२ र २१–५ को सोझो सेटमा पाखा लगायो। आर्मीका पविन लिङ्थेप र अनुमाया राई तथा आर्मीका विधान अधिकारी र अमिता गिरीको जोडीले तेस्रो स्थानमा चित्त बुझाए।  

विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले जनही ७ हजार ५ सय नगद पुरस्कार पाए। भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पिएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले बाजी मार्‍यो। सञ्जय र अनिलको जोडीले फाइनलमा तनहुँका देव गुरुङ र कास्कीका शम्भुकुमार श्रेष्ठको जोडीमाथि २२–२० र २१–१७ को जित दर्ता  गर्‍यो। बालकुमारी रिमिक्स क्लबका शान्त डंगोल र कृष्ण श्रेष्ठ तथा चन्द्रागिरिका हरि खत्री र राजकुमार पोखरेलको जोडी तेस्रो स्थानमा रहे। शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १०/१० नगद पुरस्कार प्राप्त गरे।

पुरुष डबल्समा आर्मीका पविन लिङ्थेप र विधान अधिकारीको जोडीले फाइनलमा सूर्यदर्शनका दीपक राणा र जनिश थकालीको जोडीलाई २१–१६, २२–२० र २१–१४ ले पन्छाउँदै पहिलो भयो। धादिङका राम मल्ल ठकुरी र सुजन थापा तथा बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सुमन शाक्यको जोडी तेस्रो भए। पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०/१० हजार नगद पुरस्कार पाए।  

विजेतालाई ललितपुर महानगरपालिका–१४ का अध्यक्ष अमृतजंग महतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सो अवसरमा गायक राजेशपायल राईलाई आयोजकले सम्मान गरेको थियो। आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवार र कोषाध्यक्ष सुजन राईले गायक राईलाई सम्मान गरे। आयोजक क्लबले उद्घाटन कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीकी प्रीति राईलाई पनि सम्मान गरेको थियो। चारदिने प्रतियोगितामा १ सय ३१ खेलाडीको सहभागिता रहेको थियो। 

प्रकाशित: ५ चैत्र २०८१ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App