प्रधानमन्त्री (पीएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ को पछिल्लो खेलमा नेपाल एपीएफ क्लब, लुम्बिनी प्रदेश र कोशी प्रदेश विजयी भएका छन् ।
एपीएफले कर्णाली प्रदेशलाई ५ विकेटले, लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले र कोशीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरे । जारी प्रतियोगितामा कोशीको यो पहिलो जित हो ।
सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्यो । १९० रनको लक्ष्य एपीएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा दीपक बोहोराले नटआउट ७० रनको योगदान गरे । ८६ रन जोड्दा ५ विकेट गुमाएको स्थिति सम्हाल्दै दीपकले छैठौं विकेटका लागि सुमित महर्जनसँग नटआउट १०७ रनको साझेदारी गरे । सुमित ३४ रन नटआउट रहे ।
कर्णालीका लागि कप्तान दिवान पुन र दिपेन्द्र रावतले समान २ तथा प्रकाश जैसीले १ विकेट लिए ।
पहिला ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा १८९ रनमा अलआउट भएको थियो । कर्णालीका लागि सुनिल धमलाले ४७ र दिनेश अधिकारीले ३३ रन बनाएका थिए । दिपेन्द्र रावत ३० रनमा नटआउट रहे ।
एपीएफका लागि अभिषेक गौतमले ४, कमलसिंह ऐरीले २ तथा किशोर महतो, दिपक बोहोरा, कप्तान रोहित र भुवन कार्कीले समान १ विकेट लिए ।
एपीएफ यो चौथो खेलमा तेस्रो जित हो । कर्णाली ५ खेलमा चौथो हारका साथ २ अंकमा रहेको छ ।
दाङको लमहिस्थित देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे ।
बागमतीलाई सस्तैमा समेट्न अजय चौहान र विप्रेशन केसीले समान ३ तथा रमेश कुर्मी र निर्मल गुरुङले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३२.४ ओभरमा ११५ रनको योगफलमा समेटिएको थियो । उसका लागि आकाश त्रिपाटीले सर्वाधिक ३३ रन जोडे ।
बागमतीका लागि गौतम केसीले ४, सूर्य तामाङ र इशान पाण्डेले समान २ तथा सोनु देवकोटा र रिजन ढकालले समान १ विकेट लिए ।
जितसँगै लुम्बिनी ४ खेलमा तेस्रो जित हासिल गरेको छ । चौथो खेलमा तेस्रो हार बेहोरेको बागमती नवौं स्थानमा छ ।
आइतबार नै भएको अर्को खेलमा गण्डकीले दिएको ३२ रनको झिनो लक्ष्य कोशीले ८.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । जारी प्रतियोगितामा कोशीलाई पहिलो जित दिलाउन सकिब हकले नटआउट १६ रन बनाए ।
भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको गण्डकी २०.४ ओभरमा मात्र ३१ रनमा अलआउट भएको थियो । यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सबैभन्दा कम योगफल हो ।
गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ९ रन बनाए ।
कोशीका लागि विपिन महतोले ६ विकेट लिए । फिर्दोस अन्सारीले ३ विकेट लिँदा दीपेश कंडेलको नाममा १ विकेट रह्यो ।
कोशीले पाँचौ खेलमा पहिलो अंक जोडेको छ । जारी प्रतियोगितामा गण्डकीको यो ४ मध्ये तेस्रो हार हो ।
प्रकाशित: ३ चैत्र २०८१ १७:५४ आइतबार