११ चैत्र २०८१ सोमबार
image/svg+xml
खेल

सरस्वती युथको सुखद सुरुआत

प्रतिद्वन्द्वी गोलकिपरको गल्तीमा फाइदा लिँदै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद सुरुआत गरेको दिन नयाँ बस्ती युथ र ब्वाइज युनियन क्लबले भने अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सरस्वतीले बुधबार बाँसबारी क्लबमाथि २–१ को जित निकाल्दै ‘बी’ डिभिजन लिगमा सुखद सुरुआत गरेको हो। सरस्वतीको जितमा सबिन लुङ्गेली र धीरेन्द्रबहादुर शाहले गोल गरे। यी दुवै गोल बाँसबारीका गोलकिपर रोशन कार्कीको गल्तीबाट सम्भव भएको हो।

बाँसबारीका बिकी राईले सान्त्वना गोल फर्काए तर, हार टर्न सकेनन्। त्यसअघि दिनको पहिलो खेलमा नयाँ बस्ती र ब्वाइज युनियनले गोलरहित बराबरीमा खेलेका थिए। यससँगै १४ क्लब सहभागी लिगमा पहिलो चरणको खेल पूरा भएको छ। पहिलो चरण पूरा हुँदा चार क्लबले स्पष्ट जित निकालेका छन्।

तीन खेलको नतिजा भने बराबरीमा टुङ्गिएको छ। यसअघि प्लानिङ ब्वाइज, ब्रिगेड ब्वाइज र श्रीभगवती क्लबले जित निकालेका छन्। बुधबार सरस्वतीले पनि बाँसबारमाथि जित निकाल्दै स्पष्ट तीन अंक बटुलेको छ।

क्लिन सिटनजिक पुगेको सरस्वतीले इन्जुरी समयमा गोलको सामना गरेको हो। तर, त्यो गोलका बावजुद बाँसबारी खेलमा फर्कन भने सकेन। खेलको ३३औं मिनेटमा सबिनले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाए। बाँसबारीका गोलकिपर रोशन कार्की पोजिसनमा नरहेको अवस्थामा सबिनले फ्लिक गर्दै बललाई जाली चुमाएका हुन्।

सरस्वतीका कप्तान शक्ति राईले चलाखीपूर्ण रूपमा दिएको पासलाई नियन्त्रणमा लिँदै सबिनले बाँसबारीका गोलकिपर रोशनको माथिबाट बललाई जाली चुमाए। त्यो गोलपछि सरस्वती पहिलो हाफमा १–० ले अगाडि रह्यो। दोस्रो हाफ सुरु भएको केही समयपछि नै सरस्वतीले दोस्रो गोल गर्‍यो। यसपल्ट पनि सरस्वतीले बाँसबारीका गोलकिपर रोशन कार्कीको गल्तीमा गोल गरेको हो।

५१औं मिनेटमा धीरेन्द्रले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्। बाँसबारीका गोलकिपर रोशनले आफ्नै डिफेन्डरले दिएको बललाई क्लियर गर्न सकेनन्। त्यो बल खोस्दै धीरेन्द्रले गोल गरेका हुन्।

खेलको अन्तिम समयसम्म सरस्वती सहज जिततर्पm अग्रसर देखिन्थ्यो। तर, इन्जुरी समयमा खराब डिफेन्सको फाइदा उठाउँदै बाँसबारीका बिकीले गोल गरे। सन्दीप लिम्बूले तीन डिफेन्डर कटाउँदै दिएको पासलाई पेनाल्टी बक्समा अनमार्क बिकीले जाली चुमाए। त्यससँगै बाँसबारी खेलमा फर्किने प्रयास गरे पनि सफल भएन र सरस्वतीले तीन अंक बटुल्यो। त्यसअघि पहिलो खेलमा नयाँ बस्ती र ब्वाइज युनियनले गोलको प्रयास गरे पनि सम्भव भएन र समान एक अंक बाँडे।  

प्रकाशित: २९ फाल्गुन २०८१ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App