पाकिस्तानविरुद्ध घरेलु भूमिमा पाँच खेलको टी ट्वान्टी शृंखला खेल्दा मिकाइल ब्रेसवेलले पहिलोपल्ट न्युजिल्यान्डको कप्तानी गर्ने भएका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) का धेरै खेलाडी अनुपस्थित रहँदा ब्रेसवेलले पाँच खेलको टी ट्वान्टी क्रिकेट शृंखलाका लागि न्युजिल्यान्डको नेतृत्व गर्ने भएका हुन्। न्युजिल्यान्डले मंगलबार टोली घोषणा गर्दा टोलीमा महत्त्वपूर्ण खेलाडी नभएको र त्यसको नेतृत्वमा ब्रेसवेल समावेश छन्।
दुई दिनअगाडि नै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलसम्म पुग्दा ब्रेसवेलको प्रदर्शन तारिफयोग्य नै थियो। सोही एकदिवसीय फरम्याटको च्याम्पियन्स ट्रफीमा रहेका सात खेलाडी टी ट्वान्टी शृंखलाका लागि पनि छनोट भएका छन्। आइपिएल आबद्धताका कारण आयोजक न्युजिल्यान्डसँग स्टार खेलाडी भने टोलीमा छैनन्।
नियमित कप्तान मिचेल सान्टनर, डेभोन कनवे, लोकी फर्गुसन र ग्लेन फिलिप्सबिना नै न्युजिल्यान्डको टोली घोषणा भएको छ। आइतबारदेखि क्राइस्टचर्चमा सुर हुने शृंखलाका लागि केन विलियम्सन पनि टोलीमा अनुपस्थित हुने भएका छन्। ‘देशको कप्तानीमा गर्न पाउन मेरा लागि खुसी र ठूलो सम्मानको क्षण हो,’ब्रेसवेलले भने।
उनकै कप्तानीमा न्युजिल्यान्डले गत वर्ष पाकिस्तानीमा भूमिमा ह्वाइट बलको क्रिकेट पनि खेलेको थियो। तर, घरेलु भूमिमा भने उनले पहिलोपल्ट अवसर पाएका हुन्। ‘जिम्मेवारी पाएपछि मिचेल सान्टनेरले ह्वाइट बल क्रिकेटमा धेरै राम्रो गरिरहेका छन्। उनको राम्रा कामलाई निरन्तरता दिने प्रयास गर्नेछु। टोलीमा राम्रो वातावरण सिर्जना गर्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रयत्न हुनेछ,’ उनले भने।
उनले पाकिस्तान छोटो फरम्याटको क्रिकेटमा धेरै राम्रो रहेको पनि उल्लेख गरेका छन्। ‘छोटो फरम्याटको क्रिकेटमा पाकिस्तान धेरै राम्रो छ। पावर र पेस दुवैमा पाकिस्तानले राम्रो गर्नेछ। च्याम्पियन्स ट्रफीबाट छिट्टै बाहिरिएकाले यसपल्ट बदला लिने लक्ष्य पाकिस्तानी टोलीको हुनेछ,’ उनले भनेका छन्।
चोटबाट रिकभर भएपछि तीव्र गतिका बलर बेन सिइर्स फर्किंदा स्पिनर इस सोढी पनि टोलीमा समावेश छन्। आगामी वर्ष भारतमा हुने विश्वकपको तयारीका लागि खेलिरहेको टोलीमा फिन एलेन, जिमी निसाम र टिम सेइफर्ट पनि छन्।
प्रकाशित: २९ फाल्गुन २०८१ ०७:५४ बिहीबार