३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:३५ अपराह्न
खेल

भारतसँगको फाइनल जित्ने योजना बुन्दै न्युजिल्यान्ड

च्याम्पियन्स ट्रफीमा इतिहास रच्ने लक्ष्य लिएको न्युजिल्यान्डले आइतबार भारतसँग हुने फाइनलमा जितका लागि ससाना पक्षबारे योजना बुनिरहेको छ।

लाहोरमा सम्पन्न सेमिफाइनलमा न्युजिल्यान्डले कीर्तिमानी योगफल (३६२/६) बनाउँदै दक्षिण अफ्रिकालाई ३१२/९ को अवस्थामा रोकेको थियो। यससँगै न्युजिल्यान्डले आठ राष्ट्र सम्मिलित ५० ओभरको प्रतियोगिता च्याम्पियन्स ट्रफीको फाइनलमा भारतसँग दुबईमा भेट पक्का गरेको हो।

दुई देशबीच राजनीतिक रूपमा द्वन्द्व भएकाले भारतले आयोजक पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेको थियो। त्यसैले रोहित शर्माको कप्तानीमा रहेको भारतले सबै खेल दुबईमा नै खेल्यो। यस क्रममा न्युजिल्यान्डलाई समूहचरणमा नै ४४ रनले हराएकाले भारतलाई फाइनलको दाबेदारको रूपमा पनि हेरिएको छ। तर, अलराउन्डर ड्यारिल मिचेलले त्यो खेलले आइतबारको फाइनलमा केही प्रभाव नपर्ने बताएका छन्।

‘फाइनल भनेको नयाँ दिन हो,’ दक्षिण अफ्रिकाविरुद्ध ४९ रन बनाएका मिचेलले भने, ‘चुनौती सामना गर्न धेरै उत्साहित छु। खेलमा हुने जुनसुकै अवस्था र परिस्थितिअनुरूप अगाडि बढ्न तयार छौं। खेल जित्नका लागि ससाना योजना र तरिका खोज्नेछौं।’

यस च्याम्पियन्स ट्रफीको जटिल तालिकाका कारण धेरै राष्ट्रले पाकिस्तानबाट संयुक्त अरब इमिरेट्स (युएई) मा आउने र जाने गर्नुपरेको थियो, जुन अत्यन्तै विवादास्पद पनि रह्यो। यद्यपि, भारतले भने एकै ठाउँमा रहेर सबै खेल खेल्यो। पाकिस्तान र दुबईको पिचमा धेरै फरक छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बल घुम्ने र ढिलो आउने अवस्था रहँदा पाकिस्तानको पिचमा ठूलो स्कोर बन्यो।

‘हामीले दुबईको पिचलाई राम्रोसँग बुझ्न पाएका छैनौं,’ न्युजिल्यान्डका रचिन रवीन्द्रले भने,‘भारतसँगको खेलमा बल धेरै टर्न भएको थियो। तर, भारत र अस्ट्रेलियाबीचको सेमिफाइनल खेलमा भने बल धेरै टर्न भएन। त्यसैले हामी खेलको अवस्थाअनुरूप खेल्ने गरी तयार छौं।’

सेमिफाइनलमा १०८ रन बनाएका रचिन खेलका नायक थिए। भारतले न्युजिल्यान्डसँगको खेलमा चार स्पिनर प्रयोग गरेको थियो। वरुण चक्रवर्थीले ५/४२ को प्रदर्शन गरेपछि भारतले २५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डलाई २०५ रनमा नै रोक्न सफल रह्यो।

सेमिफाइनलमा अस्ट्रेलियामाथि चार विकेटको जित निकाल्दा पनि कप्तान रोहितले चार स्पिनरलाई नै निरन्तरता दिएका थिए। तर, यसपल्ट पिचमा धेरै टर्न नभए पनि भारतले खेल आफ्नो पक्षमा पारेको थियो। ‘उनीहरूका स्पिनर धेरै राम्रा नै छन्,’ मिचेलले भारतका स्पिनर बारे भने,‘तर, हामीसँग नै केही राम्रा स्पिनर छन्।’  

प्रकाशित: २३ फाल्गुन २०८१ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App