मच्छिन्द्र एफसीले दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्ड कपको उपाधि आफ्नो पोल्टामा पार्दै शानदार जित दर्ता गरेको छ।
बुधबार सम्पन्न फाइनल खेलमा थ्रीस्टार एफसीलाई १–० को झिनो अन्तरले पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको हो।
मच्छिन्द्रलाई उपाधिसम्म पुर्याउने निर्णायक गोल खेलको २३औं मिनेटमा देवेन्द्र तामाङले गरेका थिए। महत्वपूर्ण गोल गर्दै टोलीलाई जित दिलाएका उनले ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँसहित ट्रफी हात पारे।
उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता थ्रीस्टारले भने ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगिताको सेमिफाइनल चरणमा मच्छिन्द्रले जोङ एफसी सिक्किमलाई १–० को रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो। त्यस्तै, थ्रीस्टारले संकटालाई १–० ले पराजित गर्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको थियो।
जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा सम्पन्न यो प्रतियोगिता फागुन १४ गतेदेखि बाणगंगा नगरपालिकास्थित बुद्धरंगशालामा सञ्चालन भएको थियो।
प्रकाशित: २१ फाल्गुन २०८१ २०:४७ बुधबार