आयोजक गोर्खाली रग्बी क्लबसँगै कर्णाली प्रदेश, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।
भरतपुरको कृष्णपुर खेलमैदानमा शुक्रबार लिगचरणका खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। आयोजकसँगै दुई विभागीय टोली र कर्णाली प्रदेशले सेमिफाइनलमा स्थान बनाएका हुन्।
समूह ‘ए’ बाट आयोजक गोर्खाली र कर्णाली शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगे। अर्को समूह ‘बी’ बाट आर्मी विजेता र एपिएफ उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन्। शनिबार हुने सेमिफाइनलमा गोर्खालीले एपिएफसँग र आर्मीले कर्णाली प्रदेशसँग खेल्ने भएका छन्। उपाधि भिडन्त पनि शनिबार नै हुनेछ। सहभागी कुल ७ टोलीमध्ये लुम्बिनी, मधेस र गण्डकी प्रदेश भने लिगचरणबाटै बाहिरिए।
नेपाली रग्बी क्लबले आयोजना गरेको यो नै पहिलो रग्बी सेभेन्स प्रतियोगिता हो। जुन प्रतियोगितामा विदेशी खेलाडीको उपस्थितिले रौनकता थपिएको थियो। कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। गोर्खाली रग्बीले लिगका दुवै खेल जित्यो र समूहविजेता बन्यो।
गोर्खालीले गण्डकी प्रदेशलाई २२–० र कर्णालीलाई २२–७ स्कोरले पराजित ग¥यो। निर्णायक खेलमा कर्णालीले भने गण्डकीमाथि २६–५ को जित रच्यो। यो जितसँगै कर्णाली समूह उपविजेता बनेको हो। आर्मीले लिगका तीनवटै खेल जित्यो र समूह ‘बी’ को विजेता बन्यो। आर्मीले विभागीय डर्बीमा एपीएफलाई ३४–५ स्कोरले हराउन सफल भयो।
त्यसपछि आर्मीले लुम्बिनी र मधेस प्रदेशलाई समान ४३–० स्कोरले पराजित गरेको हो। एपिएफ भने मधेसलाई २४–५ र लुम्बिनीलाई ४५–० ले हराउँदै उपविजेता बन्यो। मधेसले लुम्बिनी प्रदेशमाथि २४–७ को नतिजासहित सान्त्वना जित निकाल्यो। यसअघि प्रतियोगिताको बागमती प्रदेशका सांसद ईश्वर सापकोटा ‘सुमन’ ले ट्रफी अनावरण गर्दै उद्घाटन गरेका थिए। उनले नेपालमा रग्बी खेल तीव्र रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै स्थानीय तहमा पनि यसको विकास र प्रभाव राम्रो पर्न थालेको बताए।
गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्कीले आगामी वर्ष प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप दिने विश्वास व्यक्त गरे। नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले रग्बीको स्तर निकै वृद्धि भएको उल्लेख गर्दै आगामी १४औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि पदक जित्ने आशा व्यक्त गरे। प्रतियोगिताको विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित: १७ फाल्गुन २०८१ ०८:१७ शनिबार





