नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता हुने भएको छ।
प्रतियोगिता चैत एकदेखि चार गतेसम्म नखिपोटस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। प्रतियोगितामा ६ स्पर्धामा करिब २७५ खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूले जानकारी दिए। सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ। प्रतियोगिताको कुल पुरस्कार राशि ३ लाख ८५ हजार रूपैयाँ रहेको आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए।
पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय/७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्। पुरुष सिंगल्समा शीर्ष ८ वरीयतामा रहेका खेलाडी सहभागी हुन पाउने छैनन्।
यु–१७ पुरुष सिंगल्समा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५/५ हजार नगद पुरस्कार हात पार्नेछन्। शीर्ष २० वरीयताबाहेकका खेलाडीको पुरुष डबल्समा प्रथम हुनेले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १०/१० हजार नगद पुरस्कार जित्नेछन्।
त्यस्तै मिक्स डबल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले ७ हजार ५ सय/७ हजार ५ सय नगद पुरस्कार पाउनेछन्। भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १०/१० नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रूपैयाँ खर्च हुने कोषाध्यक्ष राईले बताए। सहभागीको बिहानको खाना र खाजाको व्यवस्था आयोजकले व्यहोर्नेछ। इच्छुकले फागुन २७ गतेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ।
प्रकाशित: १७ फाल्गुन २०८१ ०७:२९ शनिबार





