२५ माघ २०८२ आइतबार
image/svg+xml
खेल

मधेशलाई ४–० ले पराजित गर्दै सुदूरपश्चिम सेमिफाइनलमा

सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनले मधेश प्रदेशको नव जागृति यसथ क्लबलाई एकपक्षीय खेलमा ४–० को फराकिलो अन्तरले पराजित गर्दै जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबको मैदानमा बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो।

अब फाइनल प्रवेशका लागि सुदूरपश्चिमले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। कर्णालीले बुधबार आयोजक टोलीलाई ३–१ को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो।

सुदूरपश्चिमलाई जित दिलाउन श्याम बियाडीले दुई गोल गरेका थिए भने कमल देउवा र हरिष भट्टले एक/एक गोल गरे।

खेलको आठौं मिनेटमै कमल देउवाले गोल गर्दै सुदूरपश्चिमलाई अग्रता दिलाए। १९औं मिनेटमा हरिष भट्टले अर्को गोल थपे। पहिलो हाफमै दुई गोल गरेको सुदूरपश्चिमले दोस्रो हाफमा पनि दुई गोल थप्न सफल भयो।

दोस्रो हाफमा श्याम बियाडी हावी भए। उनले ४८औं र ६०औं मिनेटमा गोल गर्दै टोलीलाई बलियो जित दिलाए। उत्कृष्ट प्रदर्शनका लागि श्याम बियाडी ‘म्यान अफ द म्याच’ घोषित भए।

अब सुदूरपश्चिम र कर्णालीबीचको सेमिफाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ८ फाल्गुन २०८१ २१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App