१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

इटहरी गोल्डकप: आयोजक उद्घाटन खेलमै पराजित

प्रतिस्पर्धा गर्दै खेलाडी।

१५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमै आयोजक टोली पराजित भएको छ।

शनिबार इटहरी रंगशालामा सम्पन्न खेलमा पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) ले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्‍यो।

यूकेएफसीका तर्फबाट सत्यम शर्मा र हेमराज भुजेलले गोल गरेका थिए भने आयोजक टोलीका लागि विदेशी खेलाडी एलेक्सले गोल गरे।

गत संस्करणमा यी दुई टोली क्वाटरफाइनल चरणमा आमनेसामने हुँदा आयोजक टोलीले पेनाल्टी शुटआउटमा ५–४ गोल अन्तरले जित निकालेको थियो। यसपटक, उद्घाटन खेलमै यूकेएफसीले आयोजकलाई पराजित गर्दै अघिल्लो संस्करणको बदला लिन सफल भयो।

यूकेएफसी इटहरी गोल्डकपमा तेस्रो पटक सहभागी भएको हो। आयोजक राष्ट्रिय जागृति क्लब अहिलेसम्म इटहरीमा आयोजना हुने गोल्डकप प्रतियोगितामा सेमिफाइनलसम्म मात्र पुग्न सफल भएको छ। यस संस्करणमा आयोजकले विदेशी खेलाडीसहित विभिन्न चार खेलाडीलाई अनुबन्ध गर्दै बलियो टिम मैदानमा उतारेको थियो।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उप-विजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिनेछ। फागुन १० गतेसम्म चल्ने प्रतियोगितामा नेपालका सात तथा एक विदेशी टिम गरी आठ टोलीको सहभागिता रहेको छ।

सहभागी टोलीहरूमा भारतको यूकेएफसीसहित मच्छिन्द्र फुटबल क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, झापा एघार फुटबल क्लब, आयोजक राष्ट्रिय जागृति क्लब, एनआरटी क्लब काठमाडौं, सगरमाथा यूथ क्लब मोरङ र धरान फुटबल क्लब छन्।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ दिइनेछ। साथै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २०–२० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ दिइनेछ भने उदयीमान खेलाडीलाई एलईडी टिभी प्रदान गरिनेछ।

इटहरी उपमहानगरपालिकाको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा कुल ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगिताअन्तर्गत आइतबार साबिक विजेता सगरमाथा यूथ क्लब मोरङ र हालै धरानमा सम्पन्न २५औं बुढासुब्बा गोल्डकपका विजेता एनआरटी क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ। शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन इटहरीका मेयर हेमकर्ण पौडेलले बेलुन उडाएर गरेका थिए।

प्रकाशित: ३ फाल्गुन २०८१ १७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App