२४ औँ आहा रारा पोखरा गोल्ड कपको उपाधि उज्बेकिस्तानको ब्ल्याक बुल्सले जितेको छ। शनिवार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो ।
खेलको ४०औँ मिनेटमा कप्तान जाखोनगिर अख्मादोभको गोल गर्दै ब्ल्याक बुल्सलाई अग्रता दिलाएका थिए। त्यसपछि ५९औँ मिनेटमा असिलबेक ओरिफजोनोभले ब्ल्याक बुल्सको अग्रता दोब्बर बनाए। ६६औँ मिनेटमा साभकातजोन सात्तोरोभले गोल गरेपछि अग्रता तेब्बर भयो।
हार सम्मुख रहेको पुलिसका लागि उज्ज्वल राईले ७४औँ मिनेटमा सान्त्वना गोल गरेका थिए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ब्ल्याक बुल्स च्याम्पियन बन्यो ।
उपाधि जितसँगै ब्ल्याक बुल्सले ट्रफीसहित १२ लाख एक हजार हात पारेको छ भने उपविजेता चित्त बुझाएको पुलिसले ६ लाख एक हजारमा जितेको छ।
प्रकाशित: ३ फाल्गुन २०८१ १७:३७ शनिबार





