३० माघ २०८१ बुधबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी ट्वान्टी आई शृंखला: अनुभवी खेलाडी नै असफल

नेदरल्यान्ड्सविरुद्ध रन लिने क्रममा नेपालका पूजा महतो (बायाँ) र इन्दु बर्मा। तस्बिर: क्यान

अनुभवी खेलाडीले जिम्मेवारीपूर्ण इनिङ खेल्न नसक्दा नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी ट्वान्टी आई क्रिकेट शृंखलामा तेस्रो हार सामना गरेको छ।

अनुभवी अलराउन्डर सीता रानामगरले पाँच विकेट लिएको खेलमा आइतबार नेपाल पाहुना टोली नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो। डच टोलीसँग नेपालको यो दोस्रो हार हो। यसअघि शृंखलाको उद्घाटन खेलमा पनि नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो।

शनिबार थाइल्यान्डसँग पनि ब्याटिङ चल्न नसक्दा नेपालले हार सामना गरेको थियो। तेस्रो खेलमा पनि अनुभवी खेलाडीले जिम्मेवारीपूर्ण ब्याटिङ गर्न नसक्दा नेपालले हार सामना गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य दिएको थियो।

पूरै ओभर खेले पनि नेपालले आठ विकेटको क्षतिमा १२५ रन मात्र बनाउन सक्यो। नेपाली टोलीकी अलराउन्डर सीताले राम्रो स्थितिमा हुँदा पनि अनुभवी र सिनियर खेलाडीले जिम्मेवार भएर ब्याटिङ गर्न नसक्दा लगातार हार सामना गर्नुपरेको उल्लेख गरिन्।

‘समालिएर खेल्दा राम्रो स्थितिमा पनि थियौं। दोस्रो १० ओभरपछि जसरी ब्याटिङ गर्नुपर्ने हो, त्यो हुन सकेन,’ सीताले भनिन्, ‘आगामी तीन खेलमा राम्रो गर्छौं, कमब्याक गर्ने प्रयास गर्छौं। सिनियर खेलाडीले जिम्मेवार भएर राम्रो साझेदारी बनाउनेतर्पm ध्यान दिनुपर्छ।’ घरेलु मैदानमा भएको शृंखलामा राम्रो खेल्न नसक्नु दुखद पक्ष रहेको उनको भनाइ छ।

‘क्यानले घरेलु मैदानमा शृंखला आयोजना गरेको छ। तर, हामीले राम्रा गर्न सकेका छैनौं। यस्तो नतिजा आइरहँदा दुखी छौं। खेलाडीको फिटनेसमा पनि समस्या देखिएको छ। सिनियर खेलाडीले जिम्मेवार भएर खेल्न सकेका छैनौं,’ उनको भनाइ छ।

घरेलु टोलीले पावरप्लेमा ३१ रन जोड्दा एक विकेट मात्र गुमेको थियो। ओपनर ममता चौधरी ७ रनमै आउट भए पनि अर्की ओपनर सम्झना खड्काले २३ रनको योगदान दिइन्। सम्झनाले २५ बलमा चार चौका हिर्काइन्। शीर्ष क्रमका ब्याटरले धैर्यपूर्वक ब्याटिङ गरेका थिए।

१६.३ ओभरमा नेपाल १००÷३ को अवस्थामा थियो। यससँगै नेपालको जितका लागि २४ बलमा ४१ रन आवश्यक हुँदा सात विकेट हातमा थियो। यद्यपि, लगातार विकेट गुम्दा नेपालले थप २५ रन मात्र जोड्न सक्यो। सीताले जित्ने लक्ष्यसहित खेल्न नसकिएको उल्लेख गरिन्।

‘हामीले अन्तिम क्षणमा कसरी जित निकाल्ने भन्ने पक्षमा सिक्न सकेनौं। यसले गर्दा पनि राम्रो स्थितिमा खेललाई जितमा परिणत गर्न सकेका छैनौं,’ सीताले भनिन्। कप्तान इन्दु बर्माको ३० रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। ३२ बल खेलेकी इन्दुले एक छक्का मात्र हिर्काइन्।

युवा ब्याटर पूजा महतोले १८, कविता जोशीले १४ रन बनाउँदा सीता १० रनमा नटआउट रहिन्। अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न असफल भए। पूर्वकप्तान रुबिना क्षेत्री र बिन्दु रावलले खाता नै खोल्न सकेनन्। शृंखलाका तीन खेलमा नै आशा गरिएकी रुबिनाको ब्याटिङ चल्न सकेको छैन। अघिल्ला दुई खेलमा उनी क्रमशः ११ रन र ४ रनमा आउट भएकी थिइन्।

तेस्रो खेलमा उनी गोल्डेन डक हुन पुगिन्। डच टोलीको बलिङमा आइरिस ज्विलिङ, क्यारोलिन डी लाङ्गे र हिथर सिगर्सले समान दुई विकेट लिए। इभा लिन्च र इसाबेल भान डेरको नाममा समान एक विकेट रह्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो। एक समय डच टोली सहज १६० रनको पार गर्ने लक्ष्यमा देखिएको थियो। तर, अन्तिम तीन ओभरमा सीताले पाँच विकेट लिएपछि डच टोलीको लक्ष्य पूरा भएन। शीर्ष क्रमका ब्याटरबाट राम्रो साथ पाउँदा डच टोली राम्रो योगफल बनाउन सफल भएको हो।

पावर प्लेमा दुई विकेट गुमाएको डच टोलीले ४१ रन जोडेको थियो। डच टोलीकी कप्तान बबेटे डी लिडेले सर्वाधिक ४१ रन जोडिन्। उनी १८औं ओभरमा सीताद्वारा आउट भएकी हुन्। ३८ बलमा उनले चार चौका र एक छक्का हिर्काइन्।

ओपनर फेबे मोल्केनबोइर र रोबिने रिज्कीले समान २१ रन जोडे। हिथरले २६ रनको योगदान दिइन्। नेपालको बलिङमा सीताले १८औं र २०औं ओभरमा गरेर पाँच विकेट लिएकी हुन्। उनले तीन ओभरमा १२ रन मात्र दिइन्।

मनीषा उपाध्यायले चार ओभरमा दुई विकेट लिए पनि महँगो साबित भइन। कविता जोशी र इन्दु बर्माको नाममा समान एक विकेट रह्यो। अब नेपालले शृंखलाको चौथो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ। शृंखलमा तीन राष्ट्रले एकआपसमा समान तीन खेल खेल्नेछन्। 

प्रकाशित: २१ माघ २०८१ ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App