फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्स दशरथ रङ्गशालास्थित कभर्डहलमा भिड्दै छन्।
जनकपुर पूरा प्रतियोगितामै उत्कृष्ट लयमा रहेको छ। उसले चार जित र एक बराबरीसँगै लिग चरणमा शीर्षस्थान हासिल गरेको थियो। त्यसपछि क्वालिफायर एकमा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको जनकपुर आकर्षक ट्रफी कब्जा गर्दै जनकपुरधाम लैजाने योजनामा छ।
तर, त्यति सजिलै जनकपुरलाई फाइनल जित्न दिने छैन काठमाडौंले। यो टिम तीन जित, एक बराबरी र एक हारको नतिजासँगै लिगमा तेस्रो भएको थियो।
त्यसपछि इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइर दुईमा विराटनगरलाई पन्छाउँदै फाइनलमा उभिएको हो। यसबिच काठमाडौंको प्रदर्शन सुधारिँदै गएको छ भने विपक्षी टिम फिक्का भइरहेका छन्।
भारतको प्रो कबड्डी लिग (पिकेएल) च्याम्पियन कप्तान घनश्याम रोका मगरको उत्कृष्ट प्रदर्शनसँगै भाग्यको साथले फाइनल पुगेको काठमाडौं आकर्षक ट्रफीलाई राजधानीमै सजाउन चाहन्छ।
घनश्यामलाई रोक्न सके जनकपुर च्याम्पियन बन्ने प्रबल सम्भावना छ। अर्कोतिर, थाइल्यान्डका चाहपोन कामुनीलाई आक्रमणलाई निस्तेज पार्नसके काठमान्डु च्याम्पियन बन्न सक्छ।
यी दुई टिमबिच लिगमा पनि प्रतिस्पर्धा भएको थियो, जहाँ नतिजाले दुवै टिमलाई जित्न दिएन, हार्यो भन्न पनि मिलेन। मतलब स्कोर ३९–३९ को बराबरीमै खेल सकियो। यो एनकेएलमा जनकपुर जितबाट वञ्चित भएको एक मात्र खेल पनि हो त्यो। त्यसैले काठमाडौंलाई हराउने अभियानलाई फाइनलमा पूर्णता दिएर जनकपुर एनकेएलको उपाधि जित्न आतुर छ।
जनकपुरको लक्ष्य पनि प्रस्टै छ, जनकपुर बोल्ट्सले गत महिना नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जितेर मनाएको उत्सवलाई कबड्डीमा रूपान्तरण गर्ने।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमान्डुका कप्तान घनश्याम रोका मगरले भने, ‘जनकपुर निक्कै राम्रो टिम हो। तर, हामी राम्रो खेल्दै एनकेएल च्याम्पियन बन्न चाहान्छौं।’
हरियाणा स्टिलर्सबाट पिकेएल च्याम्पियन भएका उनी राष्ट्रिय टिमका समेत कप्तान हुन्। काठमाडौंका प्रशिक्षक सरोजकुमार सिंहले पनि मिहिनेत गर्दै आफ्नो टिम उपाधि जित्न तयार रहेको बताए।
जनकपुरका प्रशिक्षक पार्वती राईले भन्छिन् ‘हाम्रो टिमले अहिलेसम्म राम्रो खेलिरहेका छौं। अब बाँकी एक खेल पनि राम्रो खेल्दै च्याम्पियन ट्रफी उचाल्न चाहन्छौं।’ उनी एनकेएलका ६ टिमका प्रशिक्षकमध्ये एक्ली महिला हुन्।
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत कबड्डीका मुख्य प्रशिक्षक रहेकी पार्वती राईकै नेतृत्वमा नेपाली महिला टिमले १९ औं एसियाली खेलकुद २०२२ मा ऐतिहासिक कांस्य पदक जितेको थियो।
जनकपुरका कप्तान रामु टमटाले पनि आफ्नो टिम राम्रो लयमा भएकोले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने कोसिस गर्ने बताए। फाइनल दशरथ रङ्गशालास्थित कभर्डहलमा शुक्रबार साँझ ६: ३० बजे सुरु हुनेछ।
प्रकाशित: १७ माघ २०८१ २१:१९ बिहीबार





