केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको छ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनाम हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा उपाधि विजेता टोलीले १५ लाख ११ हजार १११ पाउनेछ भने उपविजेताले पाँच लाख पाउनेछ।
त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एक लाख प्रदान गरिने आयोजकले जनाएको छ।
त्यस्तै, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही ५० हजार पाउने छन्।
प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले १५ हजार पाउनेछ। त्यस्तै, हरेक खेलको विजेता टोलीले २५ हजार पाउने छन्।
उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् भने त्यसअघिका खेल सातदोबाटोमा हुनेछन्।
प्रकाशित: १६ माघ २०८१ १५:३५ बुधबार





