२१ फाल्गुन २०८१ बुधबार
image/svg+xml २१:५९ अपराह्न
खेल

‘नारदमुनी गोल्ड कप ०८१’ भोलिदेखि

बसाहा गोल्डकपको खेल तालिका।

मङ्गलबारदेखि सुरु हुन लागेको उदयपुरको पहिलो गोल्डकप तथा सर्वाधिक धनराशी पुरस्कारको ‘नारदमुनी थुलुङ राई स्मृति गोल्डकप फुटबल प्रतियोगिता’ को सबै तयारी पूरा भएको छ। स्थानीय बसाहा क्लबको आयोजनामा चौदण्डीगढी नगरपालिका-४ बसाहामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

बसाहाको बर्खेडाँडास्थित नारदमुनी थुलुङ रङ्गशालामा हुन गइरहेको प्रतियोगिता गोल्डकपको १० औँ सँस्करण भएको क्लबका सल्लाहकार शेखर राईले बताएका छन्। उनका अनुसार गएको असोज १७ गतेदेखि सञ्चालन गर्न लागेको गोल्डकप विविध प्राविधिक कारणले ४ महिनापछि धकेलिँदै अहिले गर्न लागिएको हो।

प्रतियोगितामा काठमाडौँ, झापा, मोरङ, सुनसरी, सर्लाही, सप्तरी र सिराहाका विभिन्न ८ वटा राष्ट्रिय खेलाडी क्बलको सहभागिता हुनेछ। मङ्गलबारको उद्घाटन खेलका दिन काठमाडौँको शङ्कटा क्लब र सर्लाहीको बागमति युवा क्बलबीच सुरुवाती प्रतिस्पर्धा हुनेछ। दोस्रो दिन १६ गते आयोजक बसाहा क्लब र झापा ११ फुटबल क्लबबीच र तेस्रो दिनको खेलमा सिराहाको सलेश युवा क्लबसँग मोरङको एलएक्स सिटी क्बलको भिडन्त हुनेछ।

१८ गतेका दिन सप्तरीको न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुरसँग सुनसरीको एभरेष्ट फुटबल क्लबले शक्ति दाँज्ने खेल तालिका छ। १९ र २० गते सेमिफाईनल खेलमा प्रतिस्पर्धा हुने प्रतियोगिताको फाईनल २२ गते हुने सल्लाहकार राईले बताए।

आयोजक बसाहा क्लबका अध्यक्ष गौतम राईका अनुसार असोजमा खेल्ने तय भएका केही टिम भने बद्लिएका छन्। असोजको प्रतियोगितामा विराट मेघा स्पोर्टिङ एकेडेमी मोरङ र चित्लाङ फुटबल क्लब काठमाडौँ यो बेला समय निकाल्न नसकेर सहभागी नभएको राईले बताए। उनीहरुको अभावमा एलएक्स र शङ्कटाले ठाउँ लिएका हुन्।  

जिल्लाको जेठो तथा आधादर्जन गोल्डकपमध्ये सबभन्दा ठूलो पुरस्कार राशीको बसाहा गोल्डककप विजेता समूहले ट्रफीसहित नगद ५ लाख प्राप्त गर्नेछन्। उपविजेतालाई २ लाख २५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्याचलाई ५ हजार र ट्रफि प्रदान गरिनेछ। त्यसैगरी प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, वेस्ट किपर र उदीयमान खेलाडीजस्ता ७ विधागत उपाधि विजेता खेलाडीलाई पनि जनही ५ हजार नगदसहित कप र मेडल प्रदान गरिने अध्यक्ष राईले बताएका छन्।

सल्लाहकार राईका अनुसार क्लबले प्रतियोगितामा ४० लाख रुपैयाँ खर्च लाग्ने र ६० लाख आमदानी गर्ने लक्ष्य लिएको छ। आफ्नो कोष कमजोर हुनुका साथै स्थायी आयस्रोतको अभावमा हरेक वर्ष प्रतियोगिता गर्न प्रायोजक र सहयोगी गुहार्नुपर्ने समस्याबाट छुटकारा लिन क्बबले प्रतियोगितालाई नाफामा लगेर अक्षयकोष स्थापना गर्ने योजना बनाएको छ।

आगामी दिनमा प्रतियोगिता गर्न कसैको मुख ताक्नु नपर्ने गरी क्लबलाई स्थायी आर्थिक स्रोतयुक्त बनाउन बसाहा स्थायी घर भई देशविदेशमा रहेका बसाहावासीदेखि विभिन्न सङ्घसँस्था र कार्यालयहरूसँग सहयोग लिने योजना बनाइएको छ। खेल अवधिको टिकट बिक्री र प्रायोजकको सहयोगलाई पनि आयस्रोतको माध्यम क्लबले बनाएको छ।

२००७ सालका प्रजातान्त्रिक क्रान्ति योद्धा नारदमुनी थुलुङ राईको स्मृतिमा क्लबले विगत डेढ दशकदेखि बसाहा क्लबले गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको हो। ०४२/४३ सालताका घना जङगल फाँडेर बसाहा बस्ती बसाएका क्रान्त्रि योद्धा थुलुङलाई बसाहावासीले एक आदर्श पुरुषका रूपमा मान्दै उनको स्मृतिमा फुटबललगायत विभिन्न गतिविधि गर्दै आएका छन्।  

बसाहामा नारद आदर्श शिक्षा क्याम्पस, नारद आदर्श माध्यमिक विद्यालय, रङ्गशाला उनकै नामबाट नामकरण गरिएका छन्। गोल्डकप पनि हरेक वर्ष उनकै स्मृतिमा आयोजना हुँदै आएको र यो वर्षको खेल दशौँ सँस्करण भएको क्लबले जनाएको छ।

प्रकाशित: १४ माघ २०८१ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App